गृहपृष्ठ तोकिएकै मितिमा निर्वाचन हुन्छ: नेता पाण्डे
तोकिएकै मितिमा निर्वाचन हुन्छ: नेता पाण्डे
नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताए ।
नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा पनि नसर्ने दाबी गरेका हुन् । सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे । अहिले गठबन्धनको सरकार भए पनि वडादेखि जिल्लाले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गठबन्धन गर्ने विषयमा केन्द्रले हस्तक्षेप नगर्ने बताउँदै उनले स्थानीय तहका सबै वडा, पालिका र जिल्लाले आवश्यकता महसुस गरेअनुसार गठबन्धन हुने र नहुनेबारेमा यकिन हुने उल्लेख गरेका छन् ।
सहमहामन्त्री पाण्डेले संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेसको नेतृत्वमा अहिलेको सरकार बनेको स्पष्ट गर्दै वर्तमान सरकारले वैशाखको स्थानीय तहको निर्वाचन सकेर जेठ १५ मा बजेट ल्याउने बताए । जनताका समस्या उजागर गर्न र देश निर्माणका लागि अहिलेको सरकारले जेठ १५ मा बजेट ल्याउने उनले भने । नेता पाण्डे भने, 'नेकपा (एमाले)ले एमसीसीका बारे जनतामा फैलाएको भ्रमलाई चिर्नेगरी नेपाली कांग्रेसले एकमहिने अभियान सञ्चालन गर्न लागेको छ ।'
सहमहामन्त्री पाण्डेले हरेक अप्ठ्यारा परिस्थितिमा देश बचाउनका लागि कांग्रेसले नेतृत्व गर्ने गरेको उल्लेख गर्दै एमसीसीका बारेमा जनतालाई स्पष्ट पार्न ७५३ वटै स्थानीय तहका प्रत्येक वडा र टोलमा जनताका माझ जाने गरी कांग्रेसले आइतबारदेखि अभियान सुरु गर्न लागेको जानकारी दिए । 'देशमा संकटमा आएका बेला नेकपा (एमाले) गैर जिम्मवारी चरित्र प्रस्तुत गर्दै आएको छ', उनले भने, 'कांग्रेसले जिम्मेवारीपूर्वक चुनौतीको सामना गर्दै देशको हितमा कार्य गर्छ ।'
प्रकाशित समय : २१:२१ बजे



















