नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँड, ३ जनाले पाए ११ कित्ता
वि.सं.२०७८ फागुन २४ मंगलवार १९:४०
shares

नेष्डो समृद्ध लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार लघुवित्तको आइपीओमा आवेदन गरेकामध्ये ७७ हजार ४५६ जनाले दश कित्ताका दरले शेयर पाएका छन भने ती मध्ये ३ जनाले थप एक एक कित्ता शेयर पाएका छन् ।
कम्पनीको आइपीओमा खरीका लागि मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको कुल निष्काशित संख्यालाई दश कित्ताका दरले निष्काशित सेयरले पुगेसम्मका लगानीकर्तालाई बाँडफाँड गर्नुपर्ने हुन्छ ।
कम्पनीले कर्मचारी र सामूहिक लगानी कोषका इकाइलाई सुरक्षित गरी सर्वसाधारणबाट ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन माग गरेको थियो । जसमा २५ लाख २७ हजार १०१ वटा आवेदन परेकोमा दोहोरो आवेदन परेका ४ हजार १४६ आवेदन भने रद्द भएका छन् ।
सदर आवेदक २५ लाख २२ हजार ९५५ जनालाई गोलाप्रथामा समावेश गरी शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ । उक्त सेयर ७७ हजार ४५३ जनाले दश कित्ताका र ३ जनाले ११ कित्ताका दरले शेयर पाएका छन् । सेयर भर्ने २४ लाख ४५ हजार ४९९ जनाको हातखाली भएको छ ।
नेष्डो समृद्ध लघुवित्तले फागुन ११ देखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये सामूहिक लगानी कोषका इकाइहरुका लागि ४१ हजार ४३७ कित्ता र लघुवित्तका कर्मचारीहरुका लागि १२ हजार ७५० कित्ता छुट्याइएको थियो ।
























