काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति : निजी क्षेत्र अघि-अघि, सरकार पछि-पछि

17.47K
shares

केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपर्थ्याे । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास तथा स्वदेशी कम्पनीहरूको आश्चर्यजनक विकासका कारण पछिल्ला दिनमा भुक्तानी प्रणालीको अभूतपूर्व विकास भएको छ । अन्य क्षेत्रका सरकारले हस्तक्षेप गरेपछि मात्रै व्यापार व्यवसायमा गुणात्मक विकास भएको देखिन्छ । तर विज्ञान तथा प्रविधिको क्षेत्रमा भने निजी क्षेत्र अगाडि देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी तथा कारोबारलाई महत्व दिएर व्यापक प्रचार-प्रसार गरेको छ । यसबाट पनि आम नागरिकलाई सहजरूपमा आफ्ना दैनिक काम कारबाहीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।

कम्प्युटर, मोबाइल, कार्डजस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिँदैन । त्यसकारण पैसा हराउने, चोरिने तथा अन्य कुनै पनि समस्या हुँदैन ।

कोरोनाको महामारीले पनि विद्युतीय भुक्तानी तथा कारोबारमा थप विस्तार गरिदिएको हो । त्यसभन्दा अघि वैकल्पिक प्रणालीजस्तो रहेको विद्युतीय कारोबार अहिले आएर भने आम बन्न पुगेको छ । बैंकले योजनाबद्धरूपमा नै विद्युतीय भुक्तानी र कारोबारलाई बढावा दिएको छ । मोबाइल वालेट, कनेक्ट आइपिएस, आरजिटीएसजस्ता प्रणाली सञ्चालनमा ल्याएको छ । यसले गर्दा आम मानिसलाई कारोबारमा सहजता र विश्वसनीयता पनि थपेको छ ।

यता विद्युतीय कारोबारमा वृद्धि भएसँगै सुरक्षाबारे बढेको चासोप्रति भने नियामक निकायको दायित्व थपिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनामा विद्युतीय कारोबारको संख्या र परिमाण दुवै बढेको देख्न सकिन्छ । ठूलो कारोबारकाे राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरजिटीएस) कनेक्ट आइपिएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार गत पुस मसान्तसम्म ३१ लाख ४५ हजार ९५९ पटक कनेक्ट आइपिएसबाट कारोबार भएको छ । आरजिटीएसमार्फत ६४ हजार २५४, मोबाइल बैंकिङमार्फत एक करोड ३५ लाख १८ हजार ९३६ पटक कारोबार भएको छ । वालेटबाट एक करोड ३७ लाख १२ हजार २०६ पटक, क्यूआर कोडबाट १९ लाख १८ हजार ५२६ पटक कारोबार भएको विवरण छ ।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिकरूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका कारण आमरूपमा स्थापित हुन पुगेको छ । विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ ।

राष्ट्र बैंकको विवरणानुसार कनेक्ट आइपिसमार्फत हुने कारोबार एक खर्बभन्दा बढीले भएको छ । २०७७ जेठ मसान्तमा ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आइपिएसमार्फत भएकाेमा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा एक खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ ।

अघिल्लो जेठमा १४ लाख ६४ हजारवटा कारोबार भएकामा २०७८ जेठमा आइपुग्दा त्यो बढेर २१ लाख ६० हजार ६४८ पटक कारोबार भएको छ । सबै क्षेत्रमा सहजरूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेको खण्डमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने अवस्था क्रमशः बन्दै गएको छ ।

केन्द्रीय बैंकले कालिमाटी तरकारी तथा फलफूल बजारका अतिरिक्त देशका प्रमुख तरकारी बजार, डिपार्टमेन्टल स्टोर तथा अन्य सार्वजनिक स्थानमा क्यूआर कोडको प्रयोगलाई बढावा दिन नियमित अभियान नै चलाएको छ । क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि हुँदै आएको छ ।

नगदरहित कारोबारलाई बढावा दिँदै जाने केन्द्रीय बैंकको योजना छ । गभर्नर महाप्रसाद अधिकारीले यो अभियानलाई महाअभियानको संज्ञम दिएका छन् । केन्द्रीय बैंकले आव २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्धन वर्षका रूपमा मनाउने लक्ष्य राखेको छ । त्यसका लागि चालु आवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउन लागिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्ष पहिलेदेखि नै विद्युतीय प्रणाली सुरुआत गरिसकेको छ । काठमाडौँका अधिकांश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ । खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ । सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ ।

नगद नै नभए पनि जीवन सहजरूपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ । घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजासमेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ ।

कनेक्ट आइपिएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ । यस्तै सवारीसाधन खरिद, शेयरबजार कारोबार, बीमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा वालेटमा समेत पैसा राख्न सकिन्छ ।

भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’

नेपालको हकमा भुक्तानी प्रणालीमा आएको क्रान्तिका पछाडि एफवान सफ्टको नेतृत्वदायी भूमिका रहेको छ । भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’ क्रान्ति नै भएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ ।

नेपालमा डिजिटल पेमेन्टको सुरुआत ई-सेवाले गर्‍यो । ई-सेवाले डिजिटल पेमेन्टको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको छ । ई-सेवाको यो सुविधा यति व्यापक भयो कि डिजिटल पेमेन्ट भनेकै ई-सेवा हो भन्ने मान्यता विकास भएको छ ।

मोबाइलमा रिचार्ज गर्दा होस् वा प्लेनको टिकट काट्न, बिजुलीको बिल तिर्न, स्कुलको फि तिर्न तथा इन्स्योरेन्सको प्रिमियम बुझाउनेलगायतका सेवाका लागि ई-सेवा सबैभन्दा सहज माध्यम बनेको छ । सुरुआती दिनमा बैंक तथा वित्तीय संस्थालाई पनि विद्युतीय प्रणालीमा जोड्न ठूलै मेहेनत गर्नुपरेको स्मरण गरिरहेका छन् प्रमुख कार्यकारी अधिकृत शर्मा । सुरुमा एसएमएसमार्फत जानकारी दिने प्रणालीको विकास भयो । मोबाइल फोनमा भएको क्रान्ति तथा इन्टरनेटको सहज उपलब्धतासँगै विद्युतीय कारोबारको दायरा र सीमामा आकाश-जमिनको फरक देखिन थालेको हो ।

ठूला सपिङ मलदेखि, कफीसप र रेष्टुराँ हुँदै साना पान पसलले पनि यतिबेला क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्न सकिन्छ । बैंक तथा वित्तीय संस्थाहरु फाेनपे, ई-सेवा, खल्तीजस्ता भुक्तानी प्रणालीमा जोडिएका छन् । यसबाट समयको बचत भयो भने भुक्तानी प्रणाली मोबाइलको एक क्लिकका भरमा हुने भयो ।

एफवान सफ्टका सिइओ शर्माका अनुसार फोनपेबाट मात्रै हाल दुई अर्ब ५० करोड बराबरको भुक्तानी हुन्छ । ई-सेवाको झण्डै ५० लाख पटक एप डाउनलोड भएको छ । समयक्रमअनुसार सेवामा विविधिकरण गरिरहेको र नगदरहित कारोबारका अलावा, विद्युतीय प्रणालीबाटै ऋण लिने तथा अन्य दैनिक जीवनसँग जोडिएका क्षेत्रमा पुग्ने लक्ष्य राखिएको उनको भनाइ छ ।

तपाईँको बैंक खातामा पैसा छ भने कही कतै जाँदा पनि वा कुनै काम गर्दा पनि रोकिने अवस्था छैन । हरेक क्षेत्रमा सहजरूपमा भुक्तानी गर्न सकिने अवस्था सिर्जना भएको छ । नगद छैन, के गर्ने होला भन्ने चिन्तासमेत आम मानिसमा हट्दै जानु नै आफूहरूको पनि सफलता भएको उनको भनाइ छ ।

तरकारी किन्न जाँदासमेत नगद नभए पनि चल्ने भएको छ । नगदको सट्टामा मोबाइलमा भएको एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउँदा सहज भएको छ । गोजीभरि नगद राख्न पनि नपर्ने, एटिएमको बुथ खोज्दै दौडनु पनि नपर्ने र चेक बोकेर सटहीका लागि लामो लाइनमा लाग्नुपर्ने झन्झट हट्नु पनि अर्को सफलता भएको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ ।

समयको बचतमात्रै होइन, भुक्तानी गरेको रकमको १० प्रतिशत रकम खातामा तुरुन्तै फिर्ता आउने भएकाले पनि मानिसलाई थप आकर्षित गरेको छ । नेपालको भुक्तानी प्रणालीमा नयाँ मार्गदर्शन गर्ने एफवान सफ्टले स्थापनाको १७ वर्ष पूरा गरेको छ ।

यसबीचमा कम्पनीले सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा जोडेको छ । ती सबैको मोबाइल एप एफवान सफ्टले बनाएको छ । एफवान सफ्टको सिस्टममा सबै बैंक तथा वित्तीय संस्था जोडिएको छ । त्यसबाट बैंक तथा वित्तीय संस्थालाई पनि निक्षेप प्राप्त हुने, उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झटको अन्त्य गरिदिएको छ भने मर्चेन्टहरुलाई सुरक्षितरूपमा बैंकमा पैसा जम्मा भइराख्ने अवस्था बनेको छ ।

पसलमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्दा एउटा स्ट्यान्डमात्रै राख्दा हुने भएको छ । त्यसबाट जुनसुकै बैंकको एप वा ई-सेवा, फोनपे, खल्तीजस्ता एपबाट भुक्तानी गर्न सकिने भयो । भुक्तानी प्रणालीको नयाँ विकास वास्तवमै प्रभावकारी बनेको जानकारी दिँदै शर्माले समग्र बैंकिङ प्रणालीलाई यसैमा जोडिएकाले बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसैमार्फत सहजरूपमा कारोबार गर्न पाएको र सबैभन्दा सुरक्षित रहेको बताए ।

अन्य प्रविधि विदेशबाट आयात भए पनि सूचना प्रविधिको क्षेत्रमा भएका विकासको श्रेय भने नेपाली व्यवसायीलाई नै जान्छ । भारतलाई केन्द्र बनाएर काम गरिरहेका फोनपे, गुगलपे, पेटिएमजस्ता सेवाप्रदायक पनि नेपालमा आउने तयारी गरिरहेका छन् । कत्तिको चुनौती देख्नुहुन्छ भन्ने प्रश्नमा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत शर्मा भन्छन्, 'हामी हाम्रो प्रविधि र हाम्रो सेवामा विश्वास गर्छौँ । यही आउने हो उनीहरु पनि त्यसकारण हामीलाई कुनै चुनौती हुँदैन ।'

जसरी प्रविधिको प्रयोगमार्फत मानिसको दैनिक जीवन सजिलो बनेको छ त्यसमा थप सुविधा थप्दै जानुपर्ने आवश्यकता पनि बढेर गएको छ । कुनै पनि कामका लागि पनि बैंक तथा वित्तीय संस्थामा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्यका लागि के-कस्ता काम गर्न सकिन्छ भनेर सुरु गर्दै जाँदा डिजिटल लेण्डिङ पनि अगाडि बढेको जानकारी दिँदै कार्यकारी निर्देशक शर्माले नेपाल सरकार र राष्ट्र बैंकको भूमिका पनि प्रसंशनीय रहेको बताए ।

डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ । सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।

उपभोक्ताको दैनिकी सहज

एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर काम गरिएको जनाउँदै उनले सरकारले अगाडि सारेको डिजिटल नेपालको लक्ष्यसमेत क्रमशः पूरा हुँदै जाने बताए । कम्पनीले एक हजार बढीलाई रोजगारी दिएको छ । एफवान सफ्टसहित १३ कम्पनी सञ्चालनमा छन् । यसमा एफवान सफ्ट, ई-सेवा, फोनपे, ई-सेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, ई-सेवा ट्राभल छन् ।

कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्छ । ई-सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ देखि सेवा सुरु गरेको ई-सेवाले हाल ५० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई भुक्तानी सेवा दिइरहेको छ ।

ई-सेवाबाट हाल दैनिक दुई लाखभन्दा बढीको कारोबार हुन्छ । हाल ई-सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने प्रमुख सिइओ शर्माको भनाइ छ ।

त्यस्तै फोनपेको नेटवर्कमा एक करोड ३० लाख बढी रजिष्टर्ड युजर, एक लाख ५० हजार बढी मर्चेन्ट र ५० बढी पार्टनर आबद्ध छन् । फोनपेअन्तर्गत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्यूआर पेमेन्ट, कर्पोरेट फोनपे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्टजस्ता सेवा उपलब्ध गराउँछ ।