global ime bank Long Banner Ad

गृहपृष्ठ १ कराेड खर्चमा ‘पल्सुङ ओढार’ हटाइँदै

१ कराेड खर्चमा ‘पल्सुङ ओढार’ हटाइँदै

१ कराेड खर्चमा ‘पल्सुङ ओढार’ हटाइँदै

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार)लाई नेपाली सेनाको जबरजंग गणले हटाउन सुरु गरेको छ । २०७२ सालको भूकम्पको कम्पनले डगमगाएको ढुंगा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सुरु गरेको हो ।

ढुंगाले बस्तीमा जोखिम पुर्‍याएसँगै स्थानीयवासीको आग्रहमा दुप्चेश्वर गाउँपालिकाले जिल्ला विपद् व्यवस्थापन समितिमा ढुंगा हटाइदिन गरेको आग्रह अनुसार आजदेखि काम सुरु गरिएको छ । उक्त ढुंगाले नेगीगाउँका ४७ घरधुरी बासिन्दासहित एक आधारभूत विद्यालय जोखिममा परेको प्राविधिक प्रतिवेदनका आधारमा नेपालमा उपलब्ध प्रविधि, स्रोतसाधनको परिचालन गरेर ढुंगा हटाउन दुप्चेश्वर गाउँपालिकासँग गरेको सम्झौताअनुसार काम थालिएको जबरजंग गण देवीघाटका गणपति (प्रमुख सेनानी) अरुण कार्कीले जानकारी दिए ।

उनका अनुसार गत सोमबारदेखि प्राविधिक टोली पुगे पनि आवश्यक उपकरण हेलिकप्टरमार्फत बुधबार त्यहाँ पुराएसँगै ढुंगा फुटाउने पहिलो ब्लाष्टिक आज गरिएको हो । 'मानवीय सहायताबाट हटाउन प्रयास गरेपनि त्यो सम्भव देखिएन,' प्रमुख सेनानी कार्कीले भन्नुभयो, 'नेपालमा उपलब्ध उपकरणसहित स्रोतसाधनलाई हेलिकप्टरमार्फत पुर्‍याइ विस्फोटक पदार्थको सहयोगले जोखिम ढुंगा हटाइने छ ।'

नेपाली सेना र नागरिकबीचको सम्बन्ध थप मजबुद बनाउन प्राप्त जिम्मेवारीको काम सैनिक टोलीमार्फत अघि बढाइएको हो । जबरजंग गणको नेतृत्वमा नेपाली सेनाको एकसय जना सैनिकलाई ढुंगा हटाउन दुई महिना लाग्ने अनुमान गरिएको छ । उक्त ढुंगालाई स्थानीय तामाङ समुदायले पल्सुङ ओढार भन्ने गरेका छन् । तामाङ भाषामा पल्सुङ भनेको ठूलो हो । त्यहाँ दुई ठूला ढुंगा मिलेर ओढार बनेको छ । ओढारमा स्थानीयवासीले दाउरा, खोस्टा राख्ने तथा बारीमा काम गर्दा आराम गर्ने स्थल बनाएका थिए । ढुंगाको तौल र आकार के कति परिणाममा भन्ने यकिन नभए पनि बाहिरी सतह २० हजार घनामिटर भन्दाबढीको हुनसक्ने अनुमान गरिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । उनका अनुसार ढुंगा अडिएको स्थान भीरक्षेत्र र स्थान्तरण गरिएको बस्ती नजिकै पर्ने हुँदा दिउँसो मात्रै काम गरिने नेपाली सेना र पालिकाबीच भएको सम्झौतामा उल्लेख छ ।

ढुंगा हटाउन एक करोड लाग्ने अनुमान

जोखिम ढुंगा हटाउन प्रारम्भिक अध्ययनमा एक करोड रूपैयाँ लाग्ने देखिएको छ । गाउँपालिकासँगको सहकार्यमा नेपाली सेना र प्राविधिक टोलीको स्थलगत अध्ययनमा ढुंगालाई विस्फोटक पदार्थको प्रयोग गरेर हटाउन चाहिने सामग्री खरिद, ढुवानी, जनशक्ति र जोखिम बस्तीका बासिन्दालाई स्थान्तरणका लागि एक करोड लाग्ने देखिएको हो ।

त्यसको लागि संघीय सरकारले २५ लाख, बागमती प्रदेश सरकारलाई २० लाख र दुप्चेश्वर गाउँपालिकाले ४० लाख रूपैयाँ उपलब्ध गराइसकेको छ । 'अहिले अनुमान गरिएको बजेट ढुङ्गा फुटाउन र सो क्रममा हुनसक्ने दुर्घटनाबाट स्थानीयवासीलाई जोगाउन अस्थायी टहरा निर्माण गरेर स्थान्तरणको लागि खर्च गरिने छ,' अध्यक्ष तामाङले भने, 'ढुंगालाई विस्फोट गराउँदा उछिट्टिएर बस्तीका अधिकांश घर क्षति पुग्नसक्ने देखिएको त्यसको पुनःनिर्मणको लागि अतिरिक्त बजेट आवश्यक पर्दछ ।'

जनप्रतिनिधिको चासो

२०७२ साल वैशाख १२ मा गएको शक्तिशाली भूकम्पले डगमगाएको ढुंगा क्रमशः बग्ने क्रममा पाँच वर्षपछि आफ्नो स्थान छाड्न सुरु गरेको हो । २०७७ साल भदौ दोस्रो साता परेको वर्षातले ढुंगाले जगसतह छाडेसँगैँ स्थानीयवासीलाई सुरक्षित बनाउने काम १८ महिनापछि सुरु भएको हो । नेगीबस्तीलाई ढुंगाले जोखिम बनाएसँगैँ २०७७ साल भदौमा उक्त क्षेत्रबाट निर्वाचित स‌ंघीय सांसद हितबहादुर तामाङ, प्रदेशसभा सदस्यमा निर्वाचित बागमती प्रदेशको उपसभामुख राधिका तामाङले राहत र सुरक्षित स्थानमा बसोबासको प्रबन्ध मिलाउन कसरत थालेका थिए ।

सरोकारवाला सबै पक्षको प्रयासले ढुंगा हटाउन संघीय र प्रदेश सरकारबाट बजेट व्यवस्थापनदेखि नेपाली सेनालाई जिम्मेवारी दिन निरन्तरको पहलले काम अघि बढेको हो । सैनिक टोलीले ढुंगा हटाउन सुरु गर्न लागेसँगै आवश्यक सहयोगको प्रतिवद्धता तथा प्रभावित बासिन्दालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले बुधबार सोही स्थानमा पुगेर चासो देखाए ।

जोखिम बस्तीका करिब २५० जनालाई सुरक्षित बासस्थान बनाएसँगै त्यहाँ चाहिने खानेपानी, विद्युत्, शौचालय, आउजाउ गर्न सहज बाटो, बालबालिको पढाइ लगायतका गतिविधि सहज बनाउन प्रवक्ता डा. महतले दुप्चेश्वर गाउँपालिकालाई आग्रह गरे । (रासस)

प्रकाशित समय : ००:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु