global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ दलीय स्वार्थ त्याग

दलीय स्वार्थ त्याग

दलीय स्वार्थ त्याग

संसद र सडकलाई निहित स्वार्थपूर्तिमा पटक-पटक प्रयोग गर्दै आएका राजनीतिक दलहरुले संसदमा टेबल भइसकेको अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा आफूअनुकुल नतिजा नआउने भएपछि प्रतिनिधिसभाको बैठकलाई पटक-पटक पर धकेलिरहेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गरेर त्यो सूची सार्वजनिकसमेत भइसकेपछि विभिन्न देखावटी कारण जनाउँदै संसद बैठक ‘अकारण’ सार्दै सार्दै आउनुमा दलहरुको स्वार्थशिवाय केही छैन ।

यसरी, एमसीसीकै कारण अनेक प्रपञ्च र तिकडमहरु सतहमै देखिए पनि नेपालका दलहरुले एमसीसीबारे छिनोफानो गर्न सकिरहेका छैनन् । छिनोफानोको कुनै सम्भावना पनि देखाएका छैनन् । उनीहरुका लागि एमसीसी ‘कान्छा बाउको अनुहार’झैं भएको छ । तर, हुनुपर्ने यो होइन । देशका जिम्मेवार र प्रमुख दलहरुको यो शैली कदापि शोभनीय छैन । सर्वसाधारणको तहबाटसमेत यस्तो अपेक्षा गरिन्न । ठीक छ, ‘कान्छा बाउको अनुहार’ नै सही । तर शिकार गरिल्याएपछि शिकारीले खान्छु, खाँदिनँ या के गर्छु स्पष्ट र बिनासर्त भन्नसक्नु पर्छ । तर हामीकहाँ यसो त भएन । एमसीसीजस्तो एउटा वैदेशिक परियोजना केवल सत्तास्वार्थमा रिंगिरह्यो र त्यसैमा सीमित भयो । दलहरुको यस्तो पाराले देशको छवि धुमिल्याएको मात्र होइन दीर्घकालीन रुपमा नकारात्मक असर पार्नेसमेत निश्चित छ ।

एमसीसी, सत्ता, दलीय गठबन्धन र आसन्न निर्वाचनहरु फरक-फरक कुराहरु हुन्, हुनुपर्छ । यी कुराहरुले आंशिक अन्तरसम्बन्ध राख्लान् । तर, ससर्त सम्बन्ध राख्दैनन् । हुन त, अन्य विषयमा पनि नेपालका दलहरुको प्रस्तुतिको परिदृश्य योभन्दा फरक हुने अपेक्षा गर्न सकिन्न । तर एमसीसीको सन्दर्भमा भने निकै नै लज्जास्पद अवस्था सिर्जना भइरहेको छ । एमसीसीलाई आसन्न चुनावी नाफा-घाटासँग ताैलनु दलहरूकाे भूल हाे । ठूला दलहरुले एमसीसीलाई स्वार्थसिद्धिको साधनमात्र बनाउन खोज्दा देशको समग्र स्थिति जटिलताउन्मुख बनिरहेको कसैबाट छिपेको छैन । परिस्थितिले यसरी ‘जोखिमपूर्ण’ मोड लिइरहँदा पनि दल र दलका नेताहरु कत्ति पनि चिन्तित र जिम्मेवार नबन्नु थप चिन्ता र आक्रोशको विषय हो ।

आगामी दिनमा अरु पनि ‘एमसीसी’हरु आउलान् । अझ बढी आउन सक्छन् । ति एमसीसीहरु अझ बढी बोझिला भएर आउलान् । के त्यतिबेला पनि प्रस्तुति यहीँ दोहोर्‍याउने ? होइन । अझ परिष्कृत र परिपक्व भएर प्रस्तुत नभए नेपाल शक्तिराष्ट्रबीचको पेलानमा नपर्ला र उनीहरुको खेलमैदान नबन्ला भन्न सकिन्न । यो कुरा विश्व परिदृश्यहरुले पुष्टि गरिरहेकै छ, विगतदेखि वर्तमानसम्म ।

तसर्थ, नेपालका राजनीतिक दलहरु, दलका नेताहरु सुध्रिनु जरुरी छ । दलीय स्वार्थ त्यागेर देश र जनताको हितलाई सर्वोपरि मान्दै प्रस्तुत हुनु जरुरी छ । यसका लागि आम सर्वसाधारणले पनि खबरदारी गर्नु जरुरी छ ।   अन्यथा, भावी सन्ततिको भविश्य नै अन्धकारतर्फ धकेलिने छ । अझै ढिलो भइहालेको छैन । शासन प्रणाली सुधार्न, देश बनाउन धेरै समय लाग्दैन । केवल, स्वच्छ मन र इच्छाशक्ति भए पुग्छ । यसका लागि दलहरु नै सबैभन्दा बढी जिम्मेवार बन्नुपर्छ । दलहरु ! दलीय स्वार्थ त्याग र सुध्रिउ ।

प्रकाशित समय : २३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु