लोसपा नेता बृषेशचन्द्र र विजयकुमारद्वारा पार्टी परित्याग, तमलोपा ब्यूँताउने तयारी
वि.सं.२०७८ फागुन ११ बुधवार ००:४४
shares

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् । मंगलबार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने सिंह संविधानसभा सदस्य हुन् ।
मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताएका छन् । नेता लालले नेतृत्वपंक्ति मधेशकेन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाए । उनले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेश राष्ट्रलाई जात र सम्बन्धवादमा विभाजित गरी सीमित गर्न खोजिएको आरोप लगाए ।
नेता लालले मधेसी जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकताबमोजिम स्वशासन र संघीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले त्यसैमा आवद्ध भएकाे जानकारी दिए । यस्तै सिंहले मधेसी जनविद्रोहबाट जन्मेका शक्तिहरू विस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको बताए । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्यूँताउने अन्तिम तयारीमा जुटेका छन् ।

























