धरानमा जेब्रा झोलाभित्र भेटिएको शवकाे पहिचान खुल्याे, केही व्यक्ति पक्राउ
वि.सं.२०७८ फागुन १० मंगलवार १९:०८
shares

कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने धरान ४ स्थित आपगाछी क्षेत्रको जंगलमा २ वटा झोला भित्र फेला परेको शव झापाको दमक नगरपालिका ५ का दिपक सिग्देलको भएको खुलेको छ ।
यद्यपि, प्रहरीले विस्तृत जानकारी भने गराएको छैन । सुनसरीका जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुुसार उक्त शव ४३ वर्षीय दिपक सिग्देल हुन् । एसपी थापाले भने, ‘अनुसन्धानको क्रममा केही व्यक्ति समातेका छौं । कन्फर्म गर्न बाँकी छ ।’ एसपी थापाका अनुसार पक्राउ परेकाहरुले बयान फेरिरहेका छन् । तथापि प्रमाणले च्याप्दै लगेको पनि उनले बताए । ‘दुई तीन थरी कुरा छ, तर प्रमाणले च्याप्दै लगेका छौ, ’उनले भने ।
गएको बुधबार र बिहिबार धरान ४ को आपगाँछी क्षेत्र जंगलमा २ वटा झोलामा पुरुषको शरीरको विभिन्न भागहरु काटेर फालेको अवस्थामा भेटिएको थियो । उक्त घटनामा संघीय प्रहरी इकाई कार्यालय, इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको थियो । शवको सनाखत हुन नसक्दा प्रहरीले स्केचसमेत तयार गरेर सार्वजनिक गरेको थियो ।
























