कांग्रेस महाधिवेशन : यसरी सिंगारियो ५० लाख खर्चिएर मञ्च र उद्घाटनस्थल
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १७:०३
shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।
महाधिवेशनका लागि कांग्रेसले ५० लाख खर्चिएर मञ्च र उद्घाटनस्थल तयार पारेको छ । पार्टीको झण्डा, चुनाव चिन्ह रुख अंकित र फूलमालाले मञ्च सजाइएको छ । महाधिवेशनस्थल जाने विभिन्न सडकको बीचमा पनि स्वागतद्वार राखिएको छ । महाधिवेशन स्थलमा स्टेज निर्माणदेखि सिंगार्ने काम रोशन आर्टस् सर्भिसले लिएको थियो । पहिले ३५ लाखमा सम्झौता भए पनि डीजाइन बढ्दै जाँदा निर्माण र सिंगारको लागत ५० लाख रुपैँया बराबर पुगेको सर्भिसले जनाएको छ ।

उद्घाटन समारोहमा कांग्रेसका शीर्ष नेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्नेछन् । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै ठाउँ बनाइएको छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ ।
मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान
पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोध उपर निणर्य मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

























