नबिल बैंकले ल्यायो ‘नबिल डिजिबैंक पोर्टल’, के-के छन् सुविधा ?
वि.सं.२०७८ मंसिर २३ बिहीवार १९:०५
shares

नबिल बैंकले 'नबिल डिजिबैंक पोर्टल' सार्वजनिक गरेकाे छ । उक्त पोर्टलबाट बैंकका ग्राहकले एकद्वार प्रणालीमार्फत अनलाइन सेवाहरू प्राप्त गर्न सक्नेछन् । उक्त ‘नबिल डिजिबैंक पोर्टल’को आज एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले उद्घाटन गरेका छन् ।
बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत उत्पादन/सेवालाई स्वचालित बनाएको जनाएको छ । ‘कम्प्युटराइज्ड बैंकबाट सुरु भएको यात्रा अब भने साँच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/एसएमई लोन आवेदन, अनलायन्स लगायतका सेवा उपलब्ध हुनेछन् । साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।
बैंकका सीईओ शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आइकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवासमेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसँगै ग्राहकहरूसँग केवाइसी प्रमाणीकरणका लागि केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।
भीकेवाइसी छनोटमार्फत ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचानसम्बन्धी कार्य पूरा गर्नुपर्नेछ । त्यसैगरी, नबिल भर्चुअल आइकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले आफ्नो प्यान अपलोड गरी भर्जुअल आइकार्डका लागि आवेदन दिन सक्नेछन् ।
यसका साथै, ब्यालेन्स टप-अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी)सहित मोबाइल बैंक एपभित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आइकार्ड (भारतीय रुपैयाँबाहेक) ईकारोबारका लागि पनि प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ ।

























