global ime bank Long Banner Ad

गृहपृष्ठ आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी : उपराष्ट्रपति

आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी : उपराष्ट्रपति

आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा बोल्दै उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम बन्नुपर्ने बताए । सहकारीमार्फत् अधिकतम पुँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक भएको उनले बताए । 

सहकारी विश्व अर्थतन्त्रमै मेरुदण्डको रुपमा रहेकाले नेपालमा पनि सहकारीको विकासका लागि ध्यान दिनुपर्ने उनले बताए । समृृद्ध राष्ट्र निर्माणका लागि सहकारी मुख्य माध्यम हुने उनले उनको भनाई थियो । ‘सहकारीप्रति विश्वास बढ्दै छ,’ उनले भने, ‘सहकारीले सदस्यको जीवन बदल्न सक्नुपर्छ ।’

सहकारीमा विकृति, विसंगति भित्रिएको भन्दै निराकरणका लागि सहकारी अभियान र राज्य चनाखो हुनुपर्ने उपराष्ट्रपनि पुनको भनाइ छ । ‘सहकारीलाई जिम्मेवारी बनाउन संघहरुको भूमिका प्रभावकारी हुनुपर्छ,’ उनले भने । सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनमा जोड दिनुपर्ने उनले बताए । सहकारी व्यवस्थापनमा ध्यान दिन सके यसैका माध्यमबाट द्रुर्तगतिमा आर्थिक विकास सम्भव हुने उनले बताए । सहकारीले आर्थिक असमानता अन्त्य गर्ने उनले बताए ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताइन् । संगठित भएर सामूहिक ढंगले व्यवसाय गर्ने भएकाले सहकारी व्यवसायको महत्व अझ चुलिँदै गएको उनको भनाइ छ । समाजमा सहकारीले रचनात्मक काम गरेको भए पनि केही बदमासी र खराबीका कारण यस क्षेत्र बदनामी हुन पुगेको उनले बताइन् ।

सहकारी क्षेत्रले निक्षेप पनि बढीमा लिएर कर्जामा पनि बढी लिएको भन्दै अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन सुझाव दिइन् । आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएकाले सहकारीले अर्थतन्त्रमा सशक्त भूमिका खेल्नुपर्ने उनले बताइन् । राज्यले १४.७५ प्रतिशत सन्दर्भ ब्याजदर निर्धारण गरे पनि अझै कम गरेर उद्यमशीलतामा जोड दिनुपर्ने उनको भनाइ छ ।

कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि वर्षेनी दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद भएको बताइन् । सहकारीमार्फत् उत्पादन, रोजगारी र उद्यमशीलता बढाउन उनले निर्देशन दिइन् । खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गर्न प्राथमिकता दिएको उनले बताइन् ।

जलविद्युतमा सहकारीको लगानी बढाउनुपर्नेमा उनले जोड दिइन् । सहकारीले जलविद्युतमा लगानी बढाएर बढीभन्दा बढी उत्पादन गरेर पेट्रोलियम पदार्थको आयात रोक्न सकिने बताइन् । ‘अब सहकारीले जलविद्युतमा लगानी गर्दै विद्युतीय चुल्हो प्रयोगमा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘हरेकको घरमा इन्डक्सन चुल्हो प्रयोग गरेर ४२ अर्बको एलपी ग्यासको आयात रोक्न सकिन्छ ।’

प्रकाशित समय : २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु