गृहपृष्ठ एमाले महाधिवेशन : नेतृत्व चयनमा सकसै-सकस
एमाले महाधिवेशन : नेतृत्व चयनमा सकसै-सकस
अबको मात्र एकदिनपछि नेकपा एमालेले चितवनमा १०औं राष्ट्रिय महाधिवेशन सुरु गर्दैछ । एमाले महाधिवेशनको भव्य तामझामले चितवन सिँगारिएको छ । ५० लाख रूपैयाँभन्दा बढी रकम त दुईतले मञ्च निर्माणमै खर्च भएको छ । पाँच लाख बढी कार्यकर्ता चितवन उतार्ने एमालेको उद्घोष छ । महाधिवेशनको तामझामले जति ध्यान खिचेको छ, त्यसलाई पनि माथ खुवाउने गरी त्यहाँबाट चयन भएर आउने नेतृत्वको विषयले चौतर्फी ध्यान तानेको छ ।
महाधिवेशनमा आफूअनुकूल नेतृत्व चयन गर्न सुविधाजनक अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओली छन् । उनी निर्विकल्प अध्यक्ष र सर्वसम्मतिमार्फत पदाधिकारी चयन गर्न चाहन्छन् । तर ओलीको भावनामा ठेस पुग्ने गरी निर्विकल्प अध्यक्ष बन्ने बाटोमा भीम रावल तगारो बनेर उभिएका छन् । एमालेभित्रको अधिकांश पंक्तिले ओलीलाई निर्विकल्प स्वीकार्न तयार भएका बेला वर्तमान उपाध्यक्षसमेत रहेका रावलले अध्यक्षमै उम्मेद्वारी घोषणा गरेका छन् । तथापि ओलीले रावलको उम्मेद्वारीलाई स्वागत गर्ने बताएका छन् । उनले मंगलबारमात्रै काठमाडौंमा सम्पादकहरुसँग अन्तर्क्रिया गर्दै रावलको उम्मेद्वारी आफूलाई चुनौती नभएको बरु सम्मान रहेको बताएका थिए । ‘भीम जीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । बढी खट्नुहुन्छ, थकाइ लाग्ने हो कि भनेर त्यसो भए म उठ्छु भन्नुभएको हो,' उनले भने । ‘उहाँले कुनै चुनौती भन्नुभएको छैन । सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो एकखालका मान्छेहरूले मन पराउने सुझाव पनि छ । मैले अध्यक्ष नउठेर बसिदिए हुन्थ्यो भन्ने बाहिरकाको पनि सुझाव छ,’ ओलीको बोली थियो ।
आफूले कसैलाई पनि 'सहमतिमा बस्' नभन्ने ओलीको भनाइ थियो । उनले कोही आफूविरुद्ध उम्मेदवार बने पनि नउठ्न भनेर दबाब नदिने पनि बताए । उनले भने, 'मैले उठ्ने निधो गरेँ मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो स्वाभाविक रूपमा लिनुपर्छ ।’
रावलले भने आइतबार मात्रै पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरेपछि ओलीलाई विगत स्मरण गराएका थिए । ‘उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको हो । उहाँको यस्तो कार्य र घोषणाको सम्मानका लागि पनि उमेर र अनुभवका आधारमा परिपक्व भइसकेकाले अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु,’ रावलको भनाइ थियो । ओलीले सहमति वा चुनाव दुवै विकल्पका लागि तयार रहेको सन्देश दिएर पार्टीभित्रको अल्पमत पक्षलाई मनोवैज्ञानिक दबाब दिन खोजेका छन् । किनकी यसअघि निर्विकल्प अध्यक्ष र सर्वसम्मतिबाट पदाधिकारी चयन गर्ने दाबी गर्दै आएका ओलीको बोली फेरिएको छ । शक्ति सन्तुलन मिलाएर सर्वसम्मत रूपमा १५ सदस्यीय पदाधिकारी चयन गर्ने चुनौतीका माझ उपाध्यक्ष रावलले अध्यक्षमै टक्कर दिन तयार भएपछि त्यसको दुईदिनपछि ओलीले चुनावमै जाने संकेत गरेका छन् । चुनाव भएको खण्डमा एमालेको रैथाने संस्थापन पक्षका अघि दसबुँदे सहमति कार्यान्वयनको पक्षधर समूह र नेकपा खारेजपछि एमालेतिर लागेको पूर्वमाओवादी समूह संकटमा पर्नेछ ।
अध्यक्ष सहितको पदाधिकारीमा मात्र होइन, केन्द्रीय कमिटीका लागिसमेत १ हजार जनासम्म उम्मेदवार बन्ने अनुमान गरिएको छ । त्यही अनुसारको निर्वाचन तयारी भएकाे छ । महाधिवेशनबाट १५ पदाधिकारीसहित २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ । ओलीलाई आफ्नै समूहका नेतालाई व्यवस्थापन गर्न पनि जटिल छ । किनकि एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव पद गरी १५ सदस्यीय पदाधिकारीमा नेताहरुको तीव्र आकांक्षा छ ।
वरिष्ठ उपाध्यक्षमै मिलाउन कठिन
१०औं महाधिवेशन आउनुभन्दा झण्डै तीन महिनाअघि नीति निर्माणका लागि भन्दै एमालेले पहिलोपटक असोज १५-१७ मा विधान महाधिवेशन गरेको थियो । त्यतिबेला पहिलोपटक नै वरिष्ठ उपाध्यक्ष पदको व्यवस्था गरियो । जसमा अहिले कडा टक्कर हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षका लागि हाल महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता तथा पार्टी स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र नेता रामबहादुर थापाले दाबी गरिरहेका छन् । तर उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले पनि स्वाभाविक दाबी रहेको भन्दै आकांक्षा देखाइरहेका छन् ।
फलतः वरिष्ठ उपाध्यक्ष पदको चयनमै ओलीलाई मिलाउन सहज छैन । किनकी आफ्ना विश्वासिला पात्र धेरै र उनीहरुलाई चित्त बुझाउनुपर्ने बाध्यतामा ओली छन् । पूर्वसभामूखसमेत रहेका नेता नेम्वाङले उम्मेद्वारी दिने तयारी गरेका छन् । उनी वरिष्ठ उपाध्यक्ष भएर ओली पछिको हैसियत बनाउन खोजिरहेका छन् । ओलीका हरेक कदममा बचाउ गरेका उनी पूर्वसभामुख भएरसमेत ओलीले दुई/दुईपटक गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनमा चुइक्कँ बोलेका थिएनन् । त्यसैले पनि ओलीलाई नेम्वाङको चित्त दुखाउन छुट हुने छैन ।
अब उस्तै खालका अर्का पात्र हुन् महासचिव ईश्वर पोखरेल । दुईपटकसम्म महासचिवको कार्यकाल गुजारेका पोखरेलले यसअघि आफूलाई अध्यक्षमा डिजर्भ गर्ने बताउँदै आएका थिए । तर ओली एमालेमा निर्विकल्प बन्दै गएपछि उनी अध्यक्षमा उठेर ओलीविरुद्ध जाने आँट गरेनन् । बरु ओलीको निर्विकल्पता स्वीकारे र वरिष्ठ उपाध्यक्षको लाइनमा छन् । महासचिव भएकाले स्वभावैले उनी वरिष्ठ उपाध्यक्ष हुन ओलीसँग लविङ गरिरहेका छन् । तर संस्थापन पक्षकै नेम्वाङ र पोखरेललाई मिलाउन ओलीलाई कम्ती मुस्किल छैन । उनीहरुलाई मिलाउन नसके संस्थापन पक्षभित्रै ध्रुवीकरणको सम्भावना छ ।
नेम्वाङ र पोखरेलको प्रतिस्पर्धामा थपिएका अर्का अनुहार हुन् रामबहादुर थापा ‘बादल’ । नेकपा विभाजनपछि माओवादी त्यागेर एमाले राजनीतिमा होमिएका उनी ओलीले रुचाएका पात्र हुन् । पहिलोपटक अभ्यास गरिएको विधान महाधिवेशनको संयोजक ओलीले थापालाई बनाएका थिए । १०औं राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिको संयोजक पनि थापा नै हुन् । ओली जिल्ला दौडाहमा समेत थापालाई बोकेर जाने गरेका छन् । यी परिघटनाले ओलीका लागि थापा इच्छाएको व्यक्ति भएको देखाउँछ । तर संघर्षकालदेखि नै निरन्तर साथ दिदै आएका नेम्वाङ र पोखरेलसँगको प्रतिस्पर्धामा थापालाई कुन स्थान दिन्छन्, याे विषय जटिल छ । यता पूर्वमाओवादीको सन्तुलन मिलाउन पनि थापालाई सघाउनुपर्ने बाध्यता छ । उपाध्यक्ष शाक्य र ज्ञवाली पनि आफूलाई वरिष्ठ उपाध्यक्षको स्वाभाविक दाबेदार मानिरहेका छन् । तथापि उपाध्यक्षभन्दा तल नझर्ने उनीहरुको तयारी छ ।
महासचिवमा उत्तिकै सकस
वरियतामा अलि पछि रहे पनि अध्यक्षपछिको महत्वपूर्ण पद महासचिवलाई मानिन्छ । अध्यक्षले महासचिव आफूअनुकुल नै बनाउने चाहना राख्छन् । महासचिवमा समेत ओलीलाई सकस छ । हालका उपमहासचिव विष्णु पौडेल र पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल महासचिवका बलिया दाबेदार हुन् । दुवै ओलीका लागि विशेष र आवश्यक व्यक्ति पनि । तर दुवैको चाहना सम्बोधन गरेर ओली बढ्ने सम्भावना न्यून छ । पौडल उपमहासचिवको जिम्मेवारी भोगचलन गरिआएकाले महासचिवका स्वाभाविक दाबेदार हुन् । पार्टीभित्रको खटपट व्यवस्थापनदेखि ओलीलाई सहज हुनेगरि पार्टी सञ्चालनको काममा पौडेल अगाडि देखिन्छन् । तर विधान महाधिवेशनदेखि नै ओलीले आफ्नो उत्तराधिकारीका रुपमा पोखरललाई अगाडि सारेको चर्चा निकै छ । राजनीतिक प्रस्ताव प्रस्तुतिका क्रममा ओलीले आफ्नो जिम्मेवारी पोखरेललाई सुम्पिएका थिए । त्यसलाई सांकेतिक रुपमा उत्तराधिकारी चिनाएको विश्लेषण गरिएको थियो । यसैकारण दुवैलाई मिलाएर महासचिव चयन गर्न ओलीलाई थप चुनौती छ ।
उपमहासचिव र सचिवमा नेताको लाम
उपमहासचिव र सचिवमा दाबी गर्नेको संख्या दर्जनौको संख्यामा छ । सचिवहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य र योगेश भट्टराई उपमहासचिवसम्मको तयारी गरिरहेका छन् । नभए पनि कम्तीमा अहिलेको पदभन्दा तल झर्न तयार छैनन् । स्थायी कमिटीका नेताहरु सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ लगायतका नेताले सचिव ताकिरहेका छन् । जसलाई व्यवस्थापन गर्न पनि सजिलो हुने छैन । निर्विरोध नभए निर्वाचनको विकल्प खुल्नेछ । यस्तोमा भने अहिले सिनियर भनिएकाहरूलाई नयाँ अनुहारले चुनौती दिने सम्भावना छ । यसरी नयाँ आउने अनुहारमा केन्द्रीय सदस्य गोकुल बाँस्कोटा, महेश बस्नेत, शेरबहादुर तामाङ, विशाल भट्टराई, खगराज अधिकारी, शेरधन राई, हिक्मत कार्की, भानुभक्त ढकाल, लालबाबु पण्डित, बिन्दा पाण्डे, थममाया थापा, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, यमलाल कँडेल, कर्ण थापा, वैजनाथ चौधरी लगायतका नेता यो पटकबाटै एमाले पदाधिकारीमा पुग्नसक्ने सम्भावना छ ।
उता पूर्वमाओवादीबाट आएका नेताहरु मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट पनि सचिवसहितका पदाधिकारीमै दाबी गरिरहेका छन् । केन्द्रीय सदस्य महेश बस्नेतले मंगलबारमात्रै सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध आफूसँग भएकाले चुनाव नै जित्ने दाबी उनले गरिरहेका छन् । ‘अध्यक्षमा ओली निर्विकल्प हो । सचिवमा अत्याधिक मत ल्याएर जित्छु,’ बस्नेतको भनाइ छ । उनी अध्यक्षमा ओली सर्वसम्मत हुने तर पदाधिकारी चयन निर्वाचनबाटै हुने बताउँछन् ।
एमाले महाधिवेशनमा ११ मंसिरमा उम्मेदवारी दर्ता र फिर्ताको प्रक्रिया हुनेछ भने १२ गते बिहान ८ बजेदेखि मतदान हुनेछ ।
प्रकाशित समय : २०:३२ बजे



















