गृहपृष्ठ आहा गुफापोखरी ! (फोटोफिचर)
आहा गुफापोखरी ! (फोटोफिचर)
जैविक विविधतायुक्त एवं पर्यटकीय क्षेत्र तीनजुरे-मिल्के-जलजले (टीएमजे)को मुख्य आकर्षण भनेकै गुराँस हो । नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस पाइने टीएमजेलाई ‘गुराँसको राजधानी’ पनि भनिन्छ । चैत-वैशाखमा वनै ढाकेर राताम्य फुल्ने गुराँसले टीएमजेलाई साँच्चिकै झकिझकाउ तुल्याउँछ । यसका साथै त्यहाँका पोखरी र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुले संखुवासभा, तेह्रथुम र ताप्लेजुङ जिल्लाको संगमस्थल टीएमजे क्षेत्र थप शोभायमान छ ।
बर्षातको अधिकांश समयमा कुहिरोले छोपिने टीएमजे हिउँदको चिसोमा बढी मुस्कुराउँछ । गुफापोखरी, लामपोखरी, सुकेपोखरी, जोरपोखरी, पाँचपोखरी, खोकिनपोखरीमध्ये सो क्षेत्रका कतिपय पोखरीहरु लोप भइसके । चैनपुर नगरपालिका-१, गुफाबजारमै रहेको गुफापोखरी टीएमजे क्षेत्रको सबैभन्दा ठूलो पोखरी हो । कञ्चनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमालको दृश्य जब पोखरीमा डुबुल्की मार्छ, हिमाल र पोखरीको सौन्दर्यमा त्यतिबेला देखिने मिलन मनमोहक लाग्छ । करिब २९ सय मिटरको उचाइमा अवस्थित यस पोखरीको एक किनारमा चट्टान छ । सोही चट्टानमाथि रहेको गुराँसको बुढो रुखले गुफापोखरीको अलग पहिचान बनाएको छ ।
प्रकाशित समय : २१:०९ बजे




















