global ime bank Long Banner Ad

गृहपृष्ठ सन्दर्भ विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सन्दर्भ विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सन्दर्भ विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले-पहिले ग्रामीण क्षेत्रमा स्थानीय उत्पादनको प्रयोग हुने गरेकामा पछिल्ला दिनमा तयारी खानाको प्रयोग बढेसँगै मधुमेहको समस्या देखिन थालेको हो ।

ग्रामीण क्षेत्रका बासिन्दाको परिश्रम घटेको र खानपान सहरको जस्तै हुन थालेकाले रोग देखिन थालेको हो । दैनिक खाजा र खानामा सहरिया चाउचाउ, बिस्कुट, पास्ता, तयारी पेय पदार्थजस्ताको प्रयोग बढी हुने गरेको छ । यससँगै मासु र मदिराको प्रयोग पनि बढेको छ । भरतपुर अस्पतालका फिजिसियन डा. कालिदास अधिकारी ग्रामीण क्षेत्रमा सहरको रहनसहन भित्रिएसँगै मधुमेहको समस्या पनि बढ्न थालेको बताउछन् । खानपानमा परिवर्तन, माछा, मासु, मदिराजस्ता वस्तुको उपभोग बढेकाले गाउँमा बस्नेहरूमा समस्या देखिएको उनको भनाइ छ । उनी भन्छन्, 'गाउँमा पनि क्रयशक्ति बढ्यो, सहरको जस्तै खानपिन भयो, यसले समस्या बढाएको छ ।'

जीवनशैलीमा परिवर्तन आएको जनाउँदै उनले सहरमा नियमित परीक्षण हुने भए पनि ग्रामीण क्षेत्रका बिरामीले परीक्षण नगर्दा अन्तिम अवस्थामा अस्पताल आउने गरेका बताउछन् । कलेज अफ मेडिकल साइन्सेस भरतपुरका फिजिसियन डा. प्रकाश अर्याल सहरमा धेरै मानिस भएर धेरै बिरामी आएको भए पनि जनसंख्याका अनुपातमा ग्रामीण क्षेत्रमा पनि उत्तिकै समस्या देखिएको बताउछन् । उनी भन्छन्, 'जो गाउँमा बस्नुहुन्छ, उहाँहरूले पनि खानपानमा ध्यान दिनुप-यो, नियमित परीक्षण गर्नुप-यो ।

घरमा अन्य सदस्यलाई मधुमेह नभएमा ३५ वर्षपछि नियमित परीक्षण गर्नुपर्ने जनाउँदै उनले घरमा कसैलाई मधुमेह भएमा २० वर्षको उमेरदेखि नै परीक्षण गरिरहनुपर्ने उनको सुझाव छ । मोटोपना, उच्च रक्तचाप र वंशाणुगत समस्या भएमा २० वर्षभन्दा कम उमेरकाले पनि परीक्षण गराइरहनुपर्ने उनको भनाइ छ । यस्ता वर्गले हरेक वर्ष परीक्षण गर्नुपर्छ । अन्यको हकमा तीनदेखि पाँच वर्षमा परीक्षण गर्न सकिने डा. अर्यालको सुझाव छ । डा अर्याल, 'सहरकाले मात्रै होइन, ग्रामीण क्षेत्रमा बस्नेले पनि नियमित परीक्षण गर्नुप-यो ।'

चितवन मेडिकल कलेजका इण्डोक्राइनोलोजिष्ट डा. सौरव खतिवडाले शरीरमा चिनीको मात्रा पचाउन सक्ने क्षमतामा ह्रास आयो भने रगतमा चिनीको मात्रा बढ्ने बताउछन् । उनले भने, 'यो अवस्थालाई मधुमेह भनिन्छ । खाली पेटमा रगत परीक्षण गर्दा १२६ मिलीग्राम परडेसिलिटरभन्दा बढी र खाना खाएपछि २०० भन्दा बढी भएमा हामीले मधुमेह (डाइबिटिज) भन्दछौँ ।' मधुमेह भएपछि खानपान, व्यायाम र औषधि यी तीन चिजको सहायताले सुगर (चिनी)लाई निश्चित विन्दुमा नियन्त्रणमा राख्न आवश्यक रहेको उनी औल्याउछन्  ।

मधुमेह लाग्नै नदिन पनि सतर्कता अपनाउन सकिने जनाउँदै उनी भन्छन्, 'मुख्य कारण मोटोपन र विलासी जीवनशैली नै हो । यसलाई नियन्त्रणमा राख्नुपर्छ । अहिले धेरै मानिस लामो समय कुर्चीमा बसेर काम गर्ने, शारीरिक कसरत नगर्ने गरेको छन् । यसले गर्दा शरीरको ग्लुकोज पचाउने प्रणाली र इन्सुलिनले राम्रोसँग काम गर्न सक्दैनन्, यसले मधुमेह बनाउँछ ।' दैनिक आधा घण्टा पसिना आउने गरी व्यायाम गर्न सुझाव दिँदै उनले भने, 'वंशाणुगतरूपमा भए पनि खानपान र व्यायाम गर्न सकियो भने मधुमेह हुने समय पाँच/दश वर्ष पछाडि धकेलिन्छ । शरीरलाई आवश्यक पर्ने मात्रा मिलाएर खान पर्छ । हाम्रो खानामा भात, ढिलो बढी खान्छौँ । यसबाट थोरै खाँदा पनि धेरै ग्लुकोज बन्ने भएकाले भात र ढिलोको मात्रा कति खाने भन्ने जानकारी लिन जरुरी छ ।' आफ्नो तौल, उमेर र उचाइअनुसार डाइटीसियनसँग परामर्श गरेर खाना खाने बानी बसाल्नु राम्रो हुने उनको सुझाव छ । सामान्यतया हामीले खाने चामल बिहान डेढ मुठी र बेलुका एक मुठी खाँदा पर्याप्त हुने जनाइएको छ ।  उनले एकैपटक धेरै नखान र पटक-पटक थोरै–थोरै गरेर खान सुझाव दिन्छन् ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष फिजिसियन डा. भोजराज अधिकारी मधुमेह आफैँमा रोग नभएको बताउछन् । उनले भने, 'मधुमेह रोग होइन, रोग हुनसक्ने कुराहरूको संग्रहमात्रै हो ।'  मधुमेहका कारण आँखा, मुटु, मिर्गाैला, खुट्टा, रगतका नलीमा हान्यो भने बल्ल त्यो रोग हुने उनको भनाइ छ । उनले भने, 'मधुमेहलाई राम्रोसँग नियन्त्रण ग-यौँ भने स्वस्थ जीवन जीउन सकिन्छ ।' विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९८० मा विश्वमा जम्मा १० करोड मानिसमा मधुमेह भएको र करिब ४० वर्षपछि यो संख्षा ४५ करोडभन्दा बढी पुगेको छ ।  मधुमेह उपचारमा विगत लामो समयदेखि सक्रिय डा. अधिकारीले अर्काे ४५ करोड मधुमेह हुनसक्ने, पत्ता नलागेका र अर्काे वर्ष वा जीवनशैली नबदलेमा हुनसक्ने मानिसको संख्षा रहेको बताछन् । विश्वका सात अर्ब जनसंख्यामा करिब ९० करोड मधुमेह भएका वा हुनसक्ने मानिस रहेको जनाइएको छ ।

नेपालमा पनि करिब-करिब जनसंख्याको ८.४ प्रतिशत मानिसलाई मधुमेह भएको अनुमान गरिएको डा. अधिकारीको भनाइ छ ।  नेपालमा यसको परीक्षणको पहुँच सबैतिर पुगिसकेको जनाउँदै उनले भने, 'अर्काे ८.४ प्रतिशत परीक्षण नभएको छ भन्ने अनुमान गरिएको छ ।' नेपालका सहरी क्षेत्रमा गरिएका अध्ययनले करिब २० प्रतिशत मधुमेहबाट प्रभावित भएको देखाएको जनाउँदै उनले गाउँमा तीन प्रतिशतलाई मधुमेह भएको बताउछन् । स्वस्थ जीवनशैली अपनाउन र मधुमेही छु कि छैन भनेर वर्षमा एकपटक मधुमेह परीक्षण गर्न उनले सुझाव दिए । उनले भने, 'वर्षमा एकपटक परीक्षण गरियो भने करिब–करिब फेरि मधुमेह लाग्ने सम्भावना त्यो वर्षलाई १२ प्रतिशतले टर्छ ।'

प्रकाशित समय : १५:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु