एनआइसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनलबीच व्यवसायिक सम्झौता
वि.सं.२०७८ कात्तिक १४ आइतवार २२:१२
shares
विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एनआइसी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (iPay) बीच व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरे ।
मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आएका नेपालीहरूले अब बिना झन्झट iPay को एजेन्टहरु, मोबाइल एप तथा वेबसाइटमार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै विदेशबाट आफुले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्थासमेत रहेको छ । यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काकाहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ ।
डिजिटल बैंकिङलाई आत्मसात गर्दै आइरहेको बैंकले रेमिट्यान्स कारोबारलाई समेत डिजिटलमैत्री बनाउदै लैजाने क्रममा आफ्ना ग्राहकको सहजताका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक रेमिट्यान्स पठाउने तथा रेमिट्यान्स प्राप्त गर्न मिल्ने नवीन सुविधाको सुरुवात गरेको छ । आन्तरिक रेमिट्यान्स पठाउने सुविधाअन्तर्गत जुनसुकै स्थानबाट, जुनसुकै समयमा ग्राहकले आफ्नो NIC ASIA MoBank भित्र रहेको सेन्ड रेमिटमा गएर आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स पठाउन सक्नेछन् । यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।
त्यसैगरी रिसिभ रेमिट सुविधाअन्तर्गत बैंकका ग्राहकले आफ्नो नाममा आएको रेमिट्यान्स रकम बैंकको कुनैपनि शाखा तथा एजेन्टहरूमा भौतिक उपस्थिति बिनै NIC ASIA MoBank मा Receive Remit गरेर यस बैंकमा रहेको खातामा सोझै जम्मा गर्न सक्ने कम्पनीले जनाइएको छ ।

























