नेपाल टेलिकमको पर्व अफर सार्वजनिक
वि.सं.२०७८ असोज १८ सोमवार २२:५९
shares

नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वका अवसरमा भोलिदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर उपलब्ध गराउने भएको छ । उक्त अफर दसैंका अवसरमा भोलि (असोज १९ गते) देखि कार्तिक २ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाइएको छ ।
यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् । डाटा प्याकअन्तर्गत २९४ रूपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रूपैयाँमा उपलब्ध हुनेछ ।
भ्वाइस सेवाअन्तर्गत २५ रूपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रूपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५०० रूपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुने जनाइएको छ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने टेलिकमले बताइएको छ । यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । २०० रूपैयाँदेखि ४९९ रूपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० रूपैयाँभन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।
उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले #१४१५# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट http://www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

























