रौतहटका किसानलाई मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम
वि.सं.२०७८ असोज १५ शुक्रवार १४:०४
shares
मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहटका गुजरा नगरगालिकाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा बैंकले उर्वर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा रौतहटको गुजरा नगरपालिका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।
बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत धान, दाल तथा मकै खेतीको पकेट क्षेत्रको रुपमा रहेको गुजरा, रौतहटका किसानहरुलाई व्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ विभाग प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, विगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ सेवा सुविधा, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वको बारेमा जानकारी दिएका थिए । नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनीहरुले जोड दिए । उर्वर नेपालसँगको सम्झौतापश्चात मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि लघु, साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ ।
साथै, मेगा बैंकले कृषकहरुलाई किसान कार्ड उपलब्ध गराउँदै आएको छ । किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधी लगायतका सामानहरु तेकिएको कृषि सहकारी तथा कृषि सामग्री पसलहरुबाट खरिद गर्न सक्नेछन् । किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ्ग सेवा हो, जसले किसानहरुलाई बैंकिङ साना कर्जा कारोवार गर्न सहज र सरल भएको छ ।

























