फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित
वि.सं.२०८३ कात्तिक १२ बिहीवार १०:११
shares

कञ्चनपुर। तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन् ।
विगतमा फूलको बजार नपाउँदा बारीमै फूल कुहिने समस्या भोगेका यहाँका पुष्प व्यवसायीले यस वर्ष तिहारअघि नै माग आउन थालेपछि राहत महसुस गरेका छन् । सात वर्षदेखि पुष्प व्यवसाय गर्दै आएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का सिर्जना जोशीले विगतका वर्षमा उत्पादन गरेको फूल बिक्री नहुँदा घाटा बेहोर्नुपरेको अनुभव सुनाए । “दुई वर्षअघिसम्म फूल उत्पादन गरे पनि बजार नपाउँदा बारीमै कुहिने समस्या भोग्यौँ”, जोशीले भने“गत वर्ष फूलले बजार पाएपछि राम्रो आम्दानी भयो ।” उनले स्थानीय प्रशासनले प्लाष्टिकका मालामा रोक लगाउनुका साथै भारतबाट आउने फूलमा रोक लगाएपछि स्थानीय फूलले बजार पाएको बताए । “गत वर्ष फूलले बजार पाउँदा यस वर्ष खेती बढाएको छु”, उनले भने, “यस वर्ष तिहारअघि नै फूलको बुकिङ आउन थालेको छ उत्साहित छौँ”, उनले अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताए ।
तीन सय बोट फूलको रोपेर सात वर्षअघिदेखि पुष्प व्यवसायमा लाग्नुभएका उहाँले हाल १५ कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्दै आएको छन् । वार्षिक ३० हजार भाडा तिर्नेगरी १५ कट्ठा जग्गा भाडामा लिएर फूलखेती गर्दै आएको छन् ।
“दोस्रो वर्ष मैले एक हजार बोट फूलखेती गरेको थिए बजार नपाउँदा सबै कुहियो, त्यसपछि अर्को वर्ष चार हजार बोट खेती गरे बिक्रीका लागि काठमाडौँ पठाउँदा बाटोमै बाटोमै कुहियो ।” पुष्प व्यवसायी जोशीले भने, “दुई वर्षअघि मात्रै पनि उत्पादन भएको फूल बिक्री नहुँदा २ क्वीन्टल खेर गएको थियो ।”
गत वर्ष उनले १० कट्ठा जग्गा क्षेत्रफलमा फूलखेती गर्नुभएको थियो । फूलले राम्रो बजार पाउँदा उनले राम्रो आम्दानीसमेत गरे । “कर्मचारी र मजदुर सबैको खर्च कटाएर डेढ लाख आम्दानी भएको थियो”, उनले भने, “गत वर्ष फूलले बजार पाएपछि यस वर्ष खेती बढाएको छु ।”
विगतमा बजारमा नपाउँदा व्यरोरेको घाटा पनि यस वर्ष नाफामा परिणत हुने उनको अपेक्षा छ । “स्थानीयस्तरमा उत्पादन भएको फूलको बजारका लागि हामीले धेरै सङ्घर्ष गरेका छौँ ।” उनले भने, “तिहारलगायत चाडपर्व र अन्य कार्यक्रममा पनि स्थानीयस्तरमै उत्पादन भएको फूलको प्रयोग गरौँ ।” न्य परम्परागत खेतीभन्दा फूलखेतीमा तीनगुणा बढी आम्दानी हुने भएकाले फूलखेतीमा लागेको उनको भनाइ छ ।
यसपटक फूलको माग बढेकाले तिहारमा चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । प्रतिकिलो ५०० मा फूल बिक्री हुने गरेको छ ।
फूलखेतीमा राम्रो सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल पनि पुष्प व्यवसायमा लागेका छन । आफ्नै चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूलखेती गरेका छ । “अहिले स्थानीयस्तरमा उत्पादन भएको फूलको माग बढेको छ”, उनले भने, “तिहारमा फूल बिक्रीबाट एक लाखसम्म आम्दानी हुने अपेक्षा गरेका छौँ ।” उनले फूलखेतीमा २५ हजार लागत लागेको बताए । यसपटक फूलले राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने योजना रहेको उनको भनाइ छ ।
तिहारमा सयपत्री फूलको माला, पूजाआजा तथा घर सजावटमा प्रयोग हुने भएकाले यसको माग पछिल्लो समय बढ्दो छ । बजारमा विवाह र सांस्कृतिक कार्यक्रममा आउने सयपत्री फूलको मागलाई लक्षित गर्दै पुष्प व्यवसायीले फूलखेती गर्दै आएका छन् ।

























