ट्राफिक प्रहरीलाई विद्युतीय स्कुटर हस्तान्तरण
वि.सं.२०७८ असोज १३ बुधवार २२:११
shares
वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आज एक कार्यक्रमबीच ट्राफिक प्रहरीलाई एउटा विद्युतीय स्कुटर प्रदान गरेको छ । वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले विद्युतीय स्कुटर महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईलाई हस्तान्तरण गरेका हुन् ।
एसएसपी भट्टराईले वर्ल्डलिंकलाई धन्यवाद दिदै प्राप्त स्कुटरलाई सार्वजनिक सवारी साधनहरूमा छुट्याईएको आरक्षण सिट, सवारी भाडा, स्वास्थ्य मापदण्ड कार्यान्वयनको अनुगमन तथा ट्राफिक व्यवस्थापन गर्न २ जना महिला ट्राफिक प्रहरी परिचालन गरिने बताए । स्कुटरलाई भरपुर उपयोग गरी ट्राफिक प्रहरीको काम कारबाहीमा प्रयोग गरिने उनले बताए । यसले थप प्रभावकारी रुपमा काम गर्न सहयोग गर्ने र सडक व्यवस्थापन तथा अनुगमनमा सहजता प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।
स्कुटरको चावी हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले दैनिक सडक प्रयोगमा हुने समस्यालाई समाधान गर्न स्कुटरको प्रयोगबाट थप सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए । उनले वातावरणमैत्री स्कुटरले ध्वनी प्रदुषण तथा वातावरण प्रदुषणमा समेत योगदान गर्ने बताए ।

























