एएफसी महिला एसियन कप : समूह चरणबाटै बाहिरियो नेपाल
वि.सं.२०७८ असोज ६ बुधवार ००:५३
shares

नेपाल एएफसी महिला एसियन कप- २०२२ छनोटको समूह चरणबाटै बाहिरिएको छ । उज्वेकिस्तानमा मंगलबार भएको छनोटको दोस्रो खेलमा हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल अन्तिम समयमा फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
एसियन कपको सम्भावना कायम राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब थियो । खेल अवधिभर दबाब कायमै राखे पनि गाेल गर्ने नेपालकाे प्रयास सफल भएन । हङकङले पनि आफूले पाएको मौकालाई सदुपयोग गर्न सकेन । समूह ‘एफ’को नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो ।
नेपालसँग बराबरी खेले पनि हङकङले छनोट हुने सम्भावना कायम राखेको छ । हङकङले अब अन्तिम खेलमा शुक्रबार फिलिपिन्ससँग खेल्नेछ । यस समूहको शीर्ष टोलीले आगामी जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा आयोजना हुने एसियन कपमा सहभागिता जनाउनेछ ।

























