अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटका सम्बन्धमा चेम्बरको धारणा
वि.सं.२०७८ भदौ २८ सोमवार २०:१५
shares

अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत भएको बजेटबारे नेपाल चेम्वर अफ कमर्सले धारणा राखेको छ । प्रस्तावित बजेटमा कोभिड-१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड-१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड-१९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था सकारात्मक रहेको चेम्बरको धारणा छ ।
कोभिड-१९को प्रभावबाट रोजगारी र आय-आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेको अति विपन्न गरिबलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम हुन गएको चेम्बरले जनाइएको छ । त्यसै गरी पूर्वाधार क्षेत्रको विकासको लागि लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाइ चेम्बरले सकारात्मक रुपले लिएको छ । बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएकोमा चेम्बरले स्वागत गरेको छ ।
कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा वृद्धि गरी ८० प्रतिशत पुर्याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरुको आकर्षण वृद्धि गर्ने, कृषि बाली तथा पशु बिमाको दायरा विस्तार गरी दिइँदै आएको बिमा प्रिमियम अनुदानमा साबिकको ५० प्रतिशतबाट वृद्धि गरी ८० प्रतिशत पुर्याइनु स्वागतयोग्य भएको पनि चेम्बरले धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमूनाको रुपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समुहको संयन्त्र निर्माण गरी कार्यन्वयन गर्ने प्रबन्ध मिलाएकोमा पनि चेम्बरले स्वागत गरेको छ।
त्यस्तै २०० मेगावाट माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविधुत आयोजनाका लागि कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म पुरै र यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिइ लगानीको लागि आकर्षित गर्ने व्यवस्था गरिएकोमा चेम्बरले सकारात्मक रुपले लिएको छ । अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक रहेको चेम्बरले जनाइएको छ । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढने विद्यार्थीलाइ पढदै कमाउने कार्यक्रम पनि उत्साहप्रवर्द्धक छ ।
बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजश्व २५ अर्वले वृद्धि तथा कूल गार्हस्थ्य उत्पादन ७ प्रतिशत वृद्धि गर्ने लक्ष कोभिड-१९ ले थलिएको विषम परिस्थितिको कारणले चुनौतिपूर्ण हुने चेम्बरको धारणा छ ।

























