काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन

12.35K
shares

दक्ष जनशक्ति अभावमा झापाका दुई स्थानीय तहलाई दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । कोरोना संक्रमण बढेपछि बिरामीको उपचारमा सहजता ल्याउन आनीछोइङ डोल्मा फाउण्डेशनले गत जेठ २७ गते झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एकरएक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो ।

दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । दक्ष जनशक्ति र भौतिक संरचना अभावका कारण भेन्टिलेटर उपयोग गर्न नसकिएको बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख तुलसीराम पोखरेलले बताए । 'नगर अस्पताल निर्माण भइरहेको छ,' उनले भने, 'जनशक्ति र भौतिक संरचना अभावमा भेन्टिलेटर प्रयोगमा आउन सकेको छैन,' उनले सुरक्षित अवस्थामा भेन्टिलेटर राखिएको बताए ।

अर्जुनधारामा रहेको भेन्टिलेटर पनि प्रयोगविहीन अवस्थामा छ । अर्जुनधारामा कोरोना भाइरसको संक्रमण सुरु भएको पहिलो लहरका बेला स्वास्थ्य सेवा विभागले दिएको एक थान ‘पोर्टेबल’ भेन्टिलेटर उपलब्ध गराएको थियो । फाउण्डेसनले दिएको एक थान र विभागको एक गरी दुई थान भेन्टिलेटर रहेको नगर स्वास्थ्य शाखा प्रमुख केशव रिजालले जानकारी दिए । एक थान शनिश्चरे अस्पतालमा र एक थान आइसोलेशन सेन्टरमा भेन्टिलेटर तयारी अवस्थामा राखिएको उनले बताए । 'भेन्टिलेटर तयारी अवस्थामा राखिएको छ,' उनले भने, 'तर सञ्चालनका लागि पर्याप्त जनशक्ति छैन ।' भेन्टिलेटर सञ्चालनका लागि एक मेडिकल अधिकृत र एक नर्सिङ स्टाफलाई तालिम दिइएको छ । दुई जनशक्तिले मात्र दुईवटै भेन्टिलेटर सञ्चालन गर्न नसकिने उनले बताए ।

कतिपय अस्पतालमा भेन्टिलेटर अभावमा कोरोना भाइरसका मात्र नभई अन्य बिरामीको उपचार गर्न सकस भइरहेका छ भने जनशक्ति र भौतिक संरचनाको अभावमा सरकार एवं दाताले उपलब्ध गराएका भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् ।