धनगढीका सडकमा बग्छ हरेक वर्ष करोडौं बजेट
वि.सं.२०७८ भदौ ६ आइतवार १५:५३
shares

वर्षा यामका बेला धनगढी उपमहानगरपालिकाका सडकहरु हिलाम्य हुन्छन् । मर्मतसम्भार नियमित छैन । सडकका खाल्डाखुल्डीले आवागमनमै समस्या भोग्नुपरेको नगरवासीहरुको गुनासो छ । उपमहानगरले ग्राभेलिङ र खाल्डाखुल्डी पुर्ने नाममा वार्षिक ४ करोडभन्दा बढी बजेट खर्च गर्ने गरेको छ । सडकमा करोडौँ रकमको ग्राभेल हरेक वर्ष बगेर जान्छ । तर यी सडक पिच गर्नेतर्फ उपमहानगरले ध्यान दिएको छैन ।
बर्खाको समयमा धनगढीको मुख्य बजारसहित प्रमुख आवासीय क्षेत्र हसनपुर, तारानगर, उत्तरबेहडी, बैयाबेहडी क्षेत्रका दर्जनौं भित्री सडकको पिच भत्किएर खाल्डाखुल्डी परेका छन् । ती सडकमा आउजाउ गर्न समस्या हुनुका साथै दुर्घटना बढ्ने गरेको स्थानीय टोलवासीले गुनासो गरेका छन् । न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक वर्ष पनि टिक्दैनन् ।
नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको स्थानीयको आरोप छ । ‘न्यून गुणस्तरमा निर्माण गरेका भित्री सडक एक बर्खा पनि टिक्दैन,’ धनगढी- ३ की पदमा पालले भनिन्, ‘पिच फुटेर सडकमा ठूल्ठूला खाल्डाखुल्डीले आउजाउ मात्रै नभएर दुर्घटनासमेत बढाएको छ ।’ नगरपालिका र वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधिले भने यिनै खाल्डाखुल्डी पुरेको नाममा बिल बनाएर ठूलो रकम कुम्ल्याउने गरेको उनले आरोप लगाइन् । उनले बोराडाडी-पीपल चौतरा सडकका खाल्डाखुल्डी पुरेको नाममा मात्रै अहिलेसम्म भएको खर्च खोज्ने हो भने लाखौं रकम खर्चिएको भेटिने उनको भनाइ छ ।
अढाई किलोमिटर सडकमा एक सय ठाउँमा ठूल्ठूला खाल्डाखुल्डी छन् र खाल्डाखुल्डीले यो सडक खण्डमा दिनहुँजसो दुर्घटना निम्त्याउने गरेको अटो चालकहरु बताउँछन् । धनगढीमा २ वर्षदेखि अटो रिक्सा चलाउँदै आएका जनक चौधरीले भने, ‘चटकपुर सहिदगेटदेखि क्याम्पससम्मकोे सडक वडा- ४ र ५ मा पर्ने उत्तरबेहडी, तारानगर, हसनपुरको बाहिरीपट्टि पर्ने चल्तीको सडक हो । अत्तरिया र धनगढी ६ लेनबाट बजार प्रवेश नगरी आवासीय क्षेत्रमा जाने मुख्य सडक भएकाले मानिसको चाप निकै हुन्छ ।’ उनका अनुसार खाल्डाखुल्डी भर्न नगरपालिका र वडाले ग्राभेल बिछ्याएपछि सडक झन् खराब बनेको छ । ग्राभेलमा ढुंगा बढी भएर झन् सडक दुर्घटना गराउने जोखिम बढेको चौधरीको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाले भने हिलाम्य र खाल्डाखुल्डी पुर्न वार्षिक १ करोड खर्च हुने गरेको जनाएको छ । आफ्नै टिपरमा ग्राभेल ल्याएर खाल्डाखुल्डी पुरिरहेको जनाउँदै नगरपालिकाले खोलानाला बन्द भएकाले धेरै ठाउँका खाल्डाखुल्डी पुर्न नसकिएको बताएको छ ।
.jpg)
उपमहानगरका मेयर नृप बहादुर वडले हरेक वर्ष ३० देखि ४० किलोमिटर ग्राभेल सडक, १० देखि १५ किलोमिटर कालोपत्र सडक बन्दै गएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४० किलोमिटर ग्राभेलिङ सडक निर्माणमा ३ करोड खर्च भएको छ । उनले आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म १ सय ७४ किलोमिटर ग्राभेलिङ सडकमा करिब १० करोड जति खर्च भएको बताए ।
ऐनले ढल नालीबिनाका भित्री क्षेत्रमा बर्खामा पानी जम्ने समस्याले सडक फुट्ने र खाल्डाखुल्डी हुने भएकाले स्वाभाविक रूपमा गुनासो आउने गरेको उनले बताए । भने, ‘त्यसैले पछिल्लो समयमा ढल र नालीबिना आवासीय क्षेत्रको सडक योजना बन्द गरिसकेका छौं ।’ उनले सहरीकरणको पहिलो चरणमा तीव्र समस्या देखा पर्ने गरेको बताए । ‘अहिले धनगढी उपमहानगरपालिका पनि पहिलो चरणको सहरीकरणमा छ,’ मेयर वडले भने, ‘सडकलगायत सबै पूर्वाधार विकासमा कमीकमजोरी र समस्या देखिन्छ । जनताको चाहना तीव्र रूपमा समस्याको समाधान खोज्ने हुन्छ । बजेट भने अभाव हुन्छ ।’

























