काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘सबै नेपालीलाई काेराेना खोप लगाउनु सरकारकाे पहिलो प्राथमिकता हाे’

12.14K
shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु भएको कोरोना भाइरस विरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महारागञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड- १९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् ।

केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा. अशेष ढुंगेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए ।  उनीसँगै नेपालस्थित अमेरिकाका राजदूत र्‍याण्डी बेरी पनि थिए । प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा. जागेश्वर गौतमले लगायतले अस्पतालका बारेमा जानकारी गराए ।

अस्पतालका कार्यकारी निर्देशक डा. गौतमले आज एक हजार जनालाई खोप प्रदान गर्ने बताए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको हो । सो खोप एक मात्रा लगाए पुग्छ । यसअघि नेपालमा कोभिशिल्ड र भेरोसेल खोप लगाइएको थियो । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा. झलक शर्मा गौतमले आजदेखि काठमाडाैं उपत्यका, काभ्रे र गण्डकीका केही जिल्लामा उक्त खोप लगाउन थालिएको जानकारी दिए ।

जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपांगता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइने छ । उनले खोपलाई चाँडै नै देशभर पुर्‍याउने बताए । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ । मुलुकमा अहिलेसम्म २९ लाख ९९ हजार २१४ पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ दोस्रो मात्रा खोप लगाइसकिएको छ ।