दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी
वि.सं.२०७८ जेठ २२ शनिवार १४:५३
shares

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवद्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन् । यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्धन गरिनेछ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण-मैत्री जीवन पद्धतिको छनोट प्रवद्धन गर्ने उद्देश्यले यो अभियानको सुरूवात पुस २०७७ बाटै भएको थियो । सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको ध्येय हो । ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा हस्ताक्षरित यस समझदारी पत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक-सामाजिक जिम्मेवारी (सीएसआर)को हिस्साका रूपमा काठमाडौं उपत्यका बाहिरका अन्य इच्छुक सहरमासमेत साइकल अभियान विस्तार गर्न सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन, विश्वास तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ ।
मानिसलाई प्रतिस्पर्धात्मक खेलमार्फत बढीभन्दा बढी साइकल प्रयोग गर्न उत्साहित गरिनेछ, जसले साइकल यात्रीलाई पुरस्कारसँगै प्रोत्साहित गर्ने र खेलमा सहभागी हुने तथा प्रायोजन गर्ने जस्ता वातावरणमैत्री व्यवसायलाईसमेत पक्ष पोषण गर्दछ । यस अभियानले साइकल मैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । यससँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड-सम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न वा निरन्तर गर्न उत्प्रेरित गर्दछ ।
'यस समझदारी पत्रमार्फत, यूएनडीपी र एनसेलले काँधमा काँधदेखि पाउमा पाउ मिलाउँदै एउटै चालमा लय मिलाउने छन् । सरल भाषामा भन्नुपर्दा, जीवनलाई स्वच्छ (फिट) र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ,' यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडा गांगोडा लेबले भनिन्, 'यूएनडीपी सहरी दिगो प्रतिफल हासिल गर्न र वायु प्रदूषण, सवारी चापतथा सडक सुरक्षा एवं लाखौं सहरी बासिन्दाको गुणस्तरीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सवालमा सार्वजनिक-निजी साझेदारीको प्रभावकारितामा विश्वास गर्दछ ।' एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ यो अभियान दिगो समाज प्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको बताए । 'साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो-तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकोमा एनसेल आभारी छ,' उनले भने, 'साइकल यात्राका अनेक फाइदासँगै हामी यो विश्वास गर्दछौं कि सहरमा यात्रा गर्ने हाम्रो शैलीमा परिवर्तनको सम्भावना छ ।'
यूएनडीपी र एनसेलबीच हस्ताक्षर भएको समझदारी पत्रले नेपालमा दिगो विकास लक्ष्यको प्रगतिका लागि संयुक्त रूपमा पहल कदमीलिन र अन्वेषण गर्न प्रतिबद्धता व्यक्त गर्दछ । नेपाल सरकारको ‘विद्युतीय आवागमनका लागि राष्ट्रिय योजना (एनपीईएम)’ले सन् २०५० सम्ममा अन्य विविध उपायसँगै यातायात क्षेत्रमा धाउजन्य इन्धन प्रयोग ५०५ ले घटाई वायु प्रदूषणमा सुधार ल्याउने लक्ष्य राखेको छ । त्यससँगै पुराना र मर्मत नगरिएका सवारी साधन, उद्योगको फोहरबाट हुने प्रदूषण दर घटाउने लक्ष्य पनि एनपीईएमको छ । सहरमा साइकल यात्रा अभियानले यो लक्ष्यमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
'यो सबैका लागि पहुँच योग्य र सबैलाई फाइदा पुग्ने एउटा खेल हो । कुनैपनि व्यक्तिले स्मार्टफोनबिनै वायसको साथमा यसमा सहभागी हुन र सुविधा भोग गर्न पाउँछन्, जसले गर्दा उनीहरू आफैंको र सहरकोसमेत भलो हुन्छ,' साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन)का अध्यक्ष शैलेन्द्र डंगोलले भने, 'असंख्य अभ्यास र परीक्षणपछि अन्ततःहामीले साइकल गेम एप,ग्रिनवे सुरुगर्न सकेका छौं । म यो अभियानमा भाग लिन र यसबाट लाभलिन सबैमा आह्वान गर्दछु ।'

























