खनाल-नेपाल पक्षकाे बैठक : ‘नयाँ पार्टी गठनका लागि तत्काल हतार नगराैं’
वि.सं.२०७८ जेठ २० बिहीवार २२:१३
shares

नेकपा (एमाले) खनाल-नेपाल पक्षकाे केन्द्रीय कमिटी बैठकमा सहभागीहरूले तत्काल पार्टी फुटाउन हतार गर्न नहुने बताएका छन् । बैठकमा सहभागीहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले र्वाताका नाममा आफूहरूलाई अल्मलाउन खोजेको निष्कर्ष निकालेको छ ।
बिहीबार बसेको साे पक्षकाे केन्द्रीय समितिको भर्चुअल बैठकले नेताहरुले वार्ताका नाममा अध्यक्ष ओलीले आफूहरुलाई ‘खेलाउन खोजेको’ बताएका थिए । उनीहरूले वार्तालाई ओलीले दाउपेचका रुपमा प्रयोग गरेको ‘ब्रिफिङ’गरेका हुन् । पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग छलफल गरिरहेका छन् ।
वार्ताबारे नेता सुरेन्द्र पाण्डले बैठकमा नेताहरूलाई ब्रिफिङ गर्दै ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन कोसिस गरेको र वार्ताबाट खासै उपलब्धि हासिल नभएको बताए । उनकाे भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यका अनुसार संवाद गर्दैमा केही बिग्रन्न भनेर वार्तामा बसेको तर यसलाई दाउपेचका रूपमा मात्रै प्रयोग गर्न खोजेको आरोप लगाएका छन् ।
नेताहरुको ब्रिफिङ सुनेपछि ‘केपी ओली प्रवृत्तिविरुद्ध पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने र नयाँ पार्टी गठनमा हतारो गर्न नहुने' बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

























