एस्ट्राजेनेका खोप उपलब्ध गराउन बेलायतलाई प्रधानमन्त्री ओलीको आग्रह
वि.सं.२०७८ जेठ ६ बिहीवार २०:१५
shares

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको लडाइँमा सहयोग गर्न बेलायतलाई आग्रह गरेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटसँग बिहीबार भएको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले बेलायतबाट एस्ट्राजेनेका खोप लगायतका सामग्री सहयोग प्राप्त हुने अपेक्षा रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओली र राजदूत पोलिटबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा शिष्टाचार भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध तथा कोभिड १९ को लडाइँमा परस्पर सहयोगको आदानप्रदान बारेमा समेत छलफल भएको छ । यसक्रममा प्रधानमन्त्री ओलीले बेलायत सरकारका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत ज्ञापन गरेका छन् ।

























