उपत्यकामा दुई साता लम्बियो निषेधाज्ञा, खाद्यान्न पसल खुल्ने समयावधि बढाइयो
वि.सं.२०७८ वैशाख २८ मंगलवार १९:५५
shares

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप भएको छ । उपत्यकाको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेकाे बैठकले निषेधाज्ञा १५ दिन थप गर्ने निर्णय गरेको हो । अब उपत्यकाभर जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी हुनेछ ।
आजको बैठकले यसअघिको नियममा केही परिमार्जनसमेत गरेको छ । नयाँ व्यवस्था अनुसार अब दैनिक उपभोग्य सामग्रीको पसल बिहान १० बजेसम्म खोल्न पाइनेछ। यसअघि बिहान ९ बजेसम्म मात्रै पसल खोल्न पाउने व्यवस्था थियो । त्यस्तै कालीमाटी लगायतका तरकारी तथा फलफूल बिक्री केन्द्रबाट खुद्रा बिक्रीमा रोक लगाइएको छ । ती बजारबाट थोक बिक्री मात्रै गर्न पनि आदेश जारी गरिएको छ । बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा बढी सहभागी हुन नपाइने भएकाे छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले थप दुई साता निषेधाज्ञा गर्न सिफारिस गरिसकेको थियो । त्यस्तै काठमाडौं उपत्यकाभित्रका मेयरहरुले पनि थप १५ दिने निषेधाज्ञा गर्न सुझाव दिएका थिए । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाभित्र दैनिक ४ हजारभन्दा बढी संक्रमित थपिरहेका छन् ।
काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको हो । वैशाख २१ गते थप सात दिने निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा पनि अब थप कडा हुने बताइएको छ ।

























