दशौँ राष्ट्रिय खेलकुदको काउन्टडाउन सुरु भएको घोषणा
वि.सं.२०८३ कात्तिक १६ सोमवार १७:५९
shares

सारांश
- पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ३० दिन बाँकी रहँदा कर्णाली प्रदेशले आधिकारिक रूपमा काउन्टडाउन सुरु गरेको छ ।
- आगामी मंसिर १६ गते उद्घाट्न गर्ने लक्ष्यसहित प्रतियोगिताको तयारी अघि बढाइएको हो ।
- दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुने भएको छ ।
सुर्खेत । पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन अब ३० दिन बाँकी रहँदा कर्णाली प्रदेशले आधिकारिक रूपमा काउन्टडाउन सुरु गरेको छ । आगामी मंसिर १६ गते उद्घाट्न गर्ने लक्ष्यसहित प्रतियोगिताको तयारी अघि बढाइएको हो ।
सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश रंगशालाबाट काउन्टडाउन सुरु गर्दै मुख्यमन्त्री मंगलबहादुर शाहीले निर्धारित मितिमै प्रतियोगिता सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले काउन्टडाउन सुरु हुनुले प्रतियोगिता आयोजना हुने सुनिश्चितताको सन्देश दिएको बताए ।
‘हामीले मंसिर १६ गते दशौँ राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने योजनाका साथ काम अगाडि बढाएका छौँ । आजबाट सुरु भएको काउन्टडाउनले पनि प्रतियोगिता हुन्छ भन्ने कुराको सुनिश्चितता गरेको छ,’ मुख्यमन्त्री शाहीले भने ।
उनका अनुसार प्रतियोगिताको भौतिक पूर्वाधार निर्माण, खेलाडी व्यवस्थापन र अन्य आवश्यक तयारीका विषयमा संघीय सरकारको शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश सरकारबीच समन्वय भइरहेको छ । स्थानीय तह तथा विभिन्न नगरपालिकासहित तीनै तहका सरकार संयुक्त रूपमा तयारीमा जुटेको उनले बताए ।
मुख्यमन्त्री शाहीले छोटो समयमा तयारी गर्नुपर्ने भएकाले सबै काम अपेक्षाअनुसार अघि बढ्न नसकेको स्वीकार गरे । तर चुनौतीलाई सामना गरेरै प्रतियोगिता सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।
‘तयारीका क्रममा सबै कुरा एकदम राम्रो भयो भन्ने होइन । केही चुनौती छन्, तर चुनौतीको सामना गरेरै परिणाम निकाल्ने हो । हाम्रो उद्देश्य, लक्ष्य र कार्ययोजना स्पष्ट छन्,’ उनले भने ।
उनले प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन पत्रकार, नागरिक समाज, खेलप्रेमी र सरोकारवालालाई रचनात्मक सुझाव दिन आग्रह गरे । प्राप्त सुझावलाई आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
३२ खेलमा ११ टोलीबीच प्रतिस्पर्धा
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहआयोजनामा हुने प्रतियोगिताका खेल कर्णाली प्रदेशका विभिन्न जिल्ला र लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक योजना छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताका अनुसार ३२ खेलमध्ये २८ खेल कर्णाली प्रदेशमा र चार खेल नेपालगञ्जमा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्राविधिक समितिको थप छलफलपछि खेलस्थलमा आवश्यक हेरफेर हुन सक्नेछ ।
प्रस्तावित खेलस्थलअनुसार सुर्खेतमा एथलेटिक्स, कुस्ती, ब्याडमिन्टन, कबड्डी, बक्सिङ, कराँते, बास्केटबल, फुल कन्ट्याक्ट कराँते, क्रिकेट, फुटबल, ह्यान्डबल, हक्की, ई–स्पोट्र्स, स्क्वास, रग्बी, साइक्लिङ, तेक्वान्दो, भलिबल, उसु र सेपाकताक्रो सञ्चालन गर्ने तयारी छ ।
त्यस्तै, कालिकोटमा शारीरिक सुगठन, जाजरकोटमा जुडो, रुकुम पश्चिममा खो–खो, दैलेखमा आईटीएफ तेक्वान्दो र बुद्धिचाल, सल्यानमा टेबलटेनिस तथा जुम्लामा आर्चरी सञ्चालन गर्ने प्रस्ताव छ ।
पौडी, भारोत्तोलन, टेनिस र सुटिङ नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक योजना बनाइएको छ । यी खेलसमेत कर्णालीमै सञ्चालन गर्न सकिने विषयमा छलफल भइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विभागीय टोली तथा एनआरएनएको टोली पनि सहभागी हुनेछन् ।
पहिलोपटक ई–स्पोट्र्स र पारा राष्ट्रिय खेलकुद
यसपटकको राष्ट्रिय खेलकुदमा ई–स्पोट्र्सलाई पनि समावेश गरिएको छ । त्यसैगरी दशौँ राष्ट्रिय खेलकुदसँगै पारा राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आयोजना तथा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको मूल आयोजक समितिको बैठकले प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न निजी क्षेत्र, संघसंस्था र अन्य सरोकारवालालाई समेत सहभागी गराउने निर्णय गरेको छ ।
प्रतियोगिताको व्यवस्थापनका लागि सार्वजनिक–निजी साझेदारीको अवधारणा अघि बढाउने र प्रायोजकसँग सहकार्य गर्ने निर्णयसमेत गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा खेलाडी र अफिसियल गरी करिब नौ हजारको सहभागिता रहने अपेक्षा गरिएको छ । उनीहरूको आवास, यातायात, खेल सामग्री, सुरक्षा, स्वास्थ्य सेवा र अन्य व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
रंगशाला र व्यवस्थापन मुख्य चुनौती
कर्णाली प्रदेशमा प्रतियोगिता आयोजना गर्न निर्माण गरिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला प्रमुख आयोजनास्थल हो । करिब १० हजार दर्शक क्षमताको रंगशालामा प्रतियोगिताको उद्घाटन तथा समापन समारोह आयोजना गर्ने तयारी छ ।
तर प्रतियोगिता सुरु हुन एक महिना मात्र बाँकी रहँदा पूर्वाधारको अन्तिम व्यवस्थापन, खेलस्थलको तयारी, खेल सामग्री, खेलाडीको आवास तथा यातायात व्यवस्थापन आयोजकका लागि महत्वपूर्ण चुनौती बनेका छन् ।
प्रदेश राजधानीबाहेक अन्य जिल्लामा पनि खेल सञ्चालन हुने भएकाले त्यहाँका खेलस्थलको प्राविधिक अवस्था, आवश्यक संरचना र व्यवस्थापकीय तयारी पूरा गर्नुपर्नेछ ।
यसअघि विभिन्न कारणले पटक–पटक मिति सर्दै आएको प्रतियोगिता यसपटक निर्धारित समयमै सम्पन्न गर्ने आयोजकको प्रतिबद्धता छ । काउन्टडाउन सुरु भएसँगै बाँकी रहेका तयारीका कामलाई तीव्रता दिनुपर्ने दबाब पनि बढेको छ ।
प्रचारप्रसारलाई तीव्रता दिइने
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रतियोगिताको आधिकारिक काउन्टडाउन सुरु भएसँगै प्रचारप्रसारका गतिविधिलाई पनि तीव्रता दिइने बताए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई थप उत्साहपूर्ण बनाउन काउन्टडाउन सुरु गरिएको उनको भनाइ छ ।
‘आजदेखि आधिकारिक रूपमा ३० दिनको काउन्टडाउन सुरु गरेका छौँ । अब दिनगन्तीसँगै प्रतियोगिताप्रति उत्साह पनि बढ्दै जाने अपेक्षा गरेका छौँ,’ मन्त्री पोखरेलले भने ।
उनका अनुसार प्रतियोगिताका लागि मस्कट, गीत र प्रचारात्मक भिडियो तयार गरिएको छ । ती सामग्री क्रमशः सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ । प्रतियोगिताबारे आमनागरिकलाई जानकारी गराउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमसमेत सञ्चालन गरिने उनले बताए ।
मन्त्री पोखरेलले प्रतियोगिता सफल बनाउन प्रदेश सरकार, स्थानीय सरकार र सम्बन्धित सबै निकायको समन्वय आवश्यक रहेको उल्लेख गर्दै अहिलेसम्म प्राप्त सहयोग र उत्साहप्रति धन्यवाद व्यक्त गरे । कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताले यहाँको खेल पूर्वाधार विकाससँगै पर्यटन, होटल व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ । तर प्रतियोगितालाई निर्धारित मितिमा सम्पन्न गर्न अबको ३० दिनमा पूर्वाधारदेखि खेलाडी व्यवस्थापनसम्मका बाँकी काम पूरा गर्नु आयोजकका लागि मुख्य परीक्षा हुनेछ ।

























