पोखरामा फूलको व्यापार : तिहारमा मात्रै दुई करोडको कारोबार हुने अनुमान
वि.सं.२०८३ कात्तिक १६ सोमवार १७:५१
shares

सारांश
- पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने भएको छ ।
- व्यवसायीहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरी फूलखेती गर्दै आएका छन् ।
पोखरा । पोखरामा बुधबारदेखि नवौं गोदावरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक एवं तेस्रो सयपत्री फूल मेला–२०८३ आयोजना हुने भएको छ ।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यवसायीक प्रवद्र्धनमा गोदावरीको सान’भन्ने मुल नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) जिल्ला समिति कास्कीको आयोजनामा कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रंगशालामा मेला सञ्चालन हुन लागेको हो।
फ्यान कास्कीका अध्यक्ष श्रीराम सुवेदीले यस वर्ष पोखरा क्षेत्रमा कम्तीमा दुई करोड रुपैयाँभन्दा बढीको फूलको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार फ्यानमा आवद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीसमेत व्यावसायिक फूलखेतीमा संलग्न छन् । व्यवसायीहरूले न्यूनतम ५० हजार रुपैयाँदेखि अधिकतम ६ लाख रुपैयाँसम्म आम्दानी हुने गरी फूलखेती गर्दै आएका छन् ।
यस्तै संस्थाका पूर्वअध्यक्ष दयाकुमार द्वाले मेलामा करिब ५० प्रजातिका गोदावरी प्रदर्शनीमा राखिने जानकारी दिए ।
उनका अनुसार गोदावरी फूल मेलाको मुख्य आकर्षणको रूपमा रहेपनि सयपत्री, सुनगाभा, विभिन्न बनस्पति, बोन्साईका बिरुवालगायत प्रदर्शनी तथा बिक्रीमा राखिनेछ । विषेशगरी नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र छठ पर्वलाई लक्षित गरी आयोजना हुने यस मेलाको प्रवद्र्धन पोखरा महानगरपालीकाले गरेको छ ।
महानगरका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाकाले तिहार पर्वलाई लक्षित गरी पोखरामा अनुमानित करिब २ देखि ३ करोडको फूल र माला आवश्यक पर्ने बताए ।
बजारको माग व्यवस्थापनको लागि विगत तीन वर्षदेखि महानगरले पोखरा क्षेत्रमा करिब दुई सय रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । जसबाट ७० प्रतिशत स्थानिय उत्पादनले धान्ने र बाँकी ३० प्रतिशत गोरखा, तनहुँ, स्याङ्जलगायतका जिल्लाबाट आयात हुने उनले बताए ।
स्थानीय फूल उत्पादनलाई प्रोत्साहन गर्दै पोखरालाई फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले महानगरले यस वर्ष पनि फूलखेती गर्ने किसानलाई बीउ तथा मल्चिङ (प्लास्टिक) खरिदमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको उनले बताए ।
उनका अनुसार हाल यस क्षेत्रमा १६५ जना किसान व्यावसायिक रूपमा फूलखेतीमा संलग्न छन् । ती किसानहरूले तिहारलाई लक्षित गरेर सयपत्री फूल उत्पादन गरेको बताए । कडरियाको अनुसार यस वर्ष पोखरामा फूल उत्पादन समग्रमा राम्रो भएपनि केहीदिन अघिको वर्षाले फूलमा १५ देखि २० प्रतिशत क्षेती पुगेको छ । यस्तै पोखरा महानगरपालिकाले यस वर्ष हालसम्म फूल र मालाको मूल्य निर्धारण गरिसकेको छैन ।
अघिल्ला वर्षहरुमा महानगरले फूल प्रतिकेजी ५ सय रुपैयाँ निर्धारण गरेको थियो भने मालाको मूल्य १ सय ५० तोकेको थियो । त्यस्तै महानगरले फूलको थुंगाको ३ फरक मूल्य तोकेको थियो ।
महानगरले ५ ग्रामभन्दा माथिको फूलको प्रति थुंगा ५ रुपैयाँ, ३ देखि ५ ग्रामसम्मको फूलको थुंगाको ४ रुपैयाँ र ३ ग्रामसम्मको फूलको थुंगाको मूल्य ३ रुपैयाँ तोकेको थियो । प्रमुख कडरियाले केहि दिनमै फूलको मूल्य निर्धारण हुने बताए ।

























