गृहपृष्ठ काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता लम्बियो, बजार-पसल खोल्न थप कडाइ
काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता लम्बियो, बजार-पसल खोल्न थप कडाइ
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ एक साता लम्ब्याइने भएको छ । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएकाे हाे ।
यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजेसम्मका लागि तोकिएको थियो । त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार अबको निधेषाज्ञामा बजार-पसल बिहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने छ । यसअघि बेलुका पनि २ घण्टा पसल खोल्न दिने गरिएको थियो ।
निषेधाज्ञामा बैंक तथा वित्तीय संस्थाहरूलाई आलोपालो गरी न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधि उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ । कवाडी संकलनलगायत ठेला गाडासमेत सञ्चालनमा रोक लगाइएको छ । पत्रकारहरूको हकमा सूचना विभागको कार्ड अनिवार्य गर्ने प्रजिअ पराजुलीले बताए ।
प्रकाशित समय : २१:२६ बजे