Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

'कोही दुध लिने बहानामा निस्केका छन्, कोही औषधि किन्ने भन्दै घुमिरहेका छन्'

दिनेश बिष्ट धनगढी वैशाख २१, २०७८       

'कोही दुध लिने बहानामा निस्केका छन्, कोही औषधि किन्ने भन्दै घुमिरहेका छन्'

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरले तीव्र रुप लिएको छ । छिमेकी मुलुक भारतमा दैनिक लाखौँको संख्यामा संक्रमित बढिरहँदा नेपालमा पनि दैनिक हजारौँ जनामा कोरोना पुष्टि भइरहेको छ । विगतको तुलनामा अहिले कोरोनाकै कारण मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना संक्रमणलाई न्युनीकरण गर्न देशका विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । कैलालीमा पनि १६ गते बिहानदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञाको अवस्था र कोरोनाको प्रभावका बारेमा केन्द्रित रहेर न्युज कारोबार डटकमका सुदूरपश्चिम संयोजक दिनेश बिष्टले धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडसँग गरेको कुराकानी :


जिल्लामा निशेधाज्ञा जारी छ, अहिले उपमहानगरपालिकाले के गरिरहेको छ ?

कैलालीमा यही १६ गतेबाट निषेधाज्ञा जारी भएको छ । यसलाई व्यवस्थित गर्नका लागि सुरक्षा निकायसँगै जनप्रतिनिधि लागेका छौँ । हामी तीनै तहका सरकारले विगतदेखि नै नागरिकलाई आफ्नो स्वास्थ्यको ख्याल राख्न अनुरोध गरिरहेकै छौँ । वास्तवमा आमनागरिकले आ-आफ्नो स्वास्थ्यको ख्याल गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइदिएको भए यो अवस्था आउने थिएन । 

कोभिडलाई आम नागरिकले सामान्य रुपमा लिएका छन् । अहिलेको कोरोना पहिलेको भन्दा फरक छ । दिनहुँ संक्रमितले ज्यान गुमाइरहेका छन् । सुदूरपश्चिम प्रदेशमै पनि अवस्था भयावह हुन लागेको छ । एक वर्षदेखि हामी अपिल गरिरहेका छौँ । उपमहानगरपालिकाले खानेकुरादेखि सरसफाइमा ध्यान दिन आग्रह गरिरहेको छ । हामीले यतिका अनुरोध गरेर नमान्दा अहिले निषेधाज्ञा नै गर्नुपर्ने अवस्था सिर्जना भयो । हामी आफ्नै लागि हो सरकारले यत्रो भनिरहेको भनेर कसैले सोचिरहेका छैनन् अझै पनि । अहिले पनि हेर्नुस्, यत्रो निषेधाज्ञा छ । कोही दुध लिने बहानामा बाहिर निस्केका छन् त कोही औषधि लिने भन्दै घुमिरहेका छन् । समस्याप्रति कोही पनि गम्भिर छैनन् । अहिले हामी मर्ने कि बाँच्ने भन्ने अवस्थामा पुगेका छौँ । बाँच्ने नै हो यदि भने सरकारले गरेको निर्णयको पालना गरौँ । 

आमनागरिकले सुरक्षाका मापदण्ड नअपनाएकै कारण निषेधाज्ञा गर्नुपरेको हो ?

हो । सुरक्षाका उपाय नअपनाएकै कारण हामीले निषेधाज्ञा गर्नुपरेको हो । अमेरिकामा मास्क लगाएन भने ५ सय डलर जरिवाना तिर्नुपर्छ । अनि पो संक्रमण रोकथाम भएको छ । यहाँ हेर्नुस्, टोलतिर गयो भने कसैले मास्क लगाएका छैनन् । हामीले मास्क मात्रै लगायौँ भने ६० प्रतिशत सुरक्षित हुन्छौँ । तर पनि मास्क लगाउनै मान्दैनन् । हामीले पनि उपमहानगरभित्र मास्क नलगाउनेलाई एकसय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेका छौँ । तर पनि मास्क नलाएर हिँड्ने धेरै छन् । अरुलाई केही गरेन भन्ने अनि आफ्नो कर्तव्य के हो ? त्यो बिर्सिनु त भएन नि । 

मैले मेरो लागि त मजाले कोठाभित्र बसे हुन्थ्यो नि । बाध्यात्मक परिस्थितिका कारण पो मैले बाहिर आउनुपरेको हो त । जनतालाई ‘भित्रै बस्नुस्, सुरक्षित रहनुस्’ भन्नका लागि मात्र हामी बाहिर आएका छौं । सरकारले यत्रो अनुरोध गरिरहेको छ । अहिले निषेधाज्ञा गर्नु बाध्यता हो । तर निषेधाज्ञाको पालना भएको मैले पनि पाएको छैन । स्वास्थ्य, खाद्यानबाहेक अरु कुनै पसल नचलाउने भनेका छौँ । सबै क्षेत्रबाट प्रचारप्रसार गरेका छौँ । यति गर्दा पनि मान्छेले मानिरहेका छैनन् । 

निषेधाज्ञा त लगायौँ भन्नुहुन्छ । टोल/टोलमा पसलहरु खुलेकै छन् । मानिसका आवतजावत बाक्लो नै छ । किन ?

यो मैले पनि देखेको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग मेरो कुरो भएको छ । अब बिना काममा बाहिर निस्कनेलाई समातेर भित्र हालिदिनुहोस् भनेका छौँ । अब झन कडा रुपमा प्रस्तुत हुनुपर्छ भनेर हामीले भनेका छौँ । भारतमा लाठीचार्ज हुन्छ । हामीले धैर्य गरेका छौँ । फेरि लुखुरलुखुर बाहिर हिँड्ने हो भने त्यही अवस्था आउनसक्छ । आफैँ सजग बनौँ भनिरहेका छौँ । तब पनि मान्दैनन् भने एक्सनमा जानुपर्छ ।

बाँचेपछि आफन्त, इष्टमित्रको घर जाउँला । हिजो हामीसँगै बसेको, हिँडेको मान्छे मरिसकेका छन् । भेट्ने कुरा अर्कोपटक गरौँला, अहिले आफू बाँचौँ र अरुलाई बचाऔँ भन्नेतिर सबैले सोच्नुपर्छ । हामीले भन्सारलाई व्यवस्थित चाहिँ गर्नैपर्छ । अहिले दैनिक १ हजारदेखि १५ सयसम्म नागरिकहरु भित्रिरहेका छन् । त्यो मान्छेलाई व्यवस्थित गर्न हामी एक ढंगले लाग्नेथियौँ । तर अहिले सुरक्षा निकायले मान्छेहरुलाई घरमै बस्नुस् भनेर सडकमा उभिनुपरेको छ । 

कोरोनासँगको हाम्रो लडाईं १ वर्षभन्दा बढी भइसकेको छ । त्यो अवस्था र अहिलेको अवस्थामा कति भिन्नता पाउनु भएको छ ?

त्यो बेला पनि सबैले सहयोग गरे । त्यो सहयोगकै कारण हामीले कोरोनालाई जितेका हौँ । अहिले भारतमा लकडाउन छुट गरिदियो । त्यसकैको सिकार हामी भइरहेका छौँ । खुला सिमाना छ । जति पनि खुला सिमानासँग जोडिएका पालिका छन् । सो पालिका बढी जोखिममा छन् । हामीले नछिर्न आग्रह गरिरहे पनि कुनै न कुनै कारण केही न केही मान्छे छिरिरहेकै छन् । हामी क्वारेन्टिज, आइसोलेसन, पीसीआर टेस्टको व्यवस्था गरिरहेकै छौँ । उपमहानगरपालिकाले आफैँ उपमहानगर परिसरमा पीसीआरका लागि स्वाब संकलन गरिरहेको छ । सायद यो सेवा देशभरीकै स्थानीय तहमध्ये पहिलो हामी हौँ । सरकारी तहले यसरी काम गरिरहँदा सबै आम सर्वसाधारणहरुको सहयोग हुन जरुरी छ । 

यसरी निषेधाज्ञा उल्लंघन भइरहने हो भने लम्बिने सम्भावना कतिको छ ?

यसरी नागरिकको सहयोग रहेन भने कडाका साथ निषेधाज्ञा लम्बिन्छ । हामी मुख्यमन्त्री, मन्त्री, सीडीओसँग छलफलमा छौँ । अब गेटा मेडिकल कलेजमा आइसोलेशन बनाउने भन्ने कुरा चलिरहेको छ । कैलाली कञ्चनपुरका सीडीओहरुसँग पनि नाका व्यवस्थापन गर्नुपर्छ भनेर मैले सुझाव दिएको छु । 

प्रदेशको एकमात्र यस उपमहानगरपालिकाले भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्नुछ । क्वारेन्टिन, आइसोलेशन बनाउने कुरा छ । अस्पतालमा बेड, अक्सिजन अभावजस्ता धेरै समस्या छन् । कसरी समाधान गर्नुहुन्छ ?

यहाँहरुलाई थाहा छ मैले धेरै भन्नु पर्दैन । भारतबाट हजारौँको संख्यामा आउने नेपाली नागरिकलाई खाना खुवाउनेदेखि जुन जिल्लाको व्यक्ति भए पनि बसमा पठाइदिने कामसम्म धनगढी उपमहानगरपालिकाले गरेको थियो । दातृ निकायसँग अनुरोध र समन्वय गरेर हामीले अन्य प्रदेशमा समेत पठायौँ । व्यवस्थित क्वारेन्टिन, आइसोलेशन हामीले बनायौँ । अहिले मात्रै धनगढी उपमहानगरपालिकाले बनाएको आइसोलेशनमा १ सय ५० जना छन् । नाकाको व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने हो तर हामीले प्रदेशसँग समन्वय गरेर आफैँले काम गर्‍यौँ । 

अहिले गेटा मेडिकल कलेजलाई आइसोलेशन बनाउने काम सुरु भइसकेको छ । त्यहाँ पनि हामी स्वास्थ्यकर्मी पठाउँछौँ । कर्मचारीको अभाव छ । बिस्तारै करारमा कर्मचारी भर्ना गर्ने कुरा छँदैछ । यसको र उसको भन्ने होइन, अहिले जसले जति सक्छ, गर्ने हो । मैले निजी अस्पतालहरुसँग पनि आग्रह गरेको थिएँ । कोभिड वार्ड सञ्चालनका लागि केहीले गर्नुभएको छ । म दातृ निकायलाई पनि आग्रह गर्न चाहन्छु सहयोगका लागि । यसरी हामी निरन्तर खटिरहेका छौँ । सकेसम्म आम नागरिकलाई जोगाउन लागिपरेका छौँ । 

अन्तमा तपाईंको अपिल केही छ कि ?

म आग्रह गर्दछु । बाहिरबाट आएका नागरिकलाई नाकामै टेस्ट गर्ने र पोजेटिभलाई आइसोलेशन र नेगेटिभलाई पनि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दछु । हामीले लापरबाही गरे टोलमा संक्रमण हुन्छ, टोलले सिंगो देश डुबाउँछ । मेरो हृदयबाटै अनुरोध छ, कृपया बहाना गरेर यताउता नगरी दिनुहोस् । घरमा बस्नुस् पक्कै हामी कोरोनालाई जित्छौँ ।

सम्बन्धित खबरहरु