मास्क प्रयोग नगरे ५० रूपैयाँ जरिवाना
वि.सं.२०७८ वैशाख १४ मंगलवार १३:१२
shares

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमबारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन आज बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिइएको छ । कारबाहीस्वरुप उनीहरुबाट एक हजार ८५० रूपैयाँ जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ‘तपाइको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?,' अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ । सुरुमा प्रहरीले ८०/९० जनालाई सम्झाइबुझाइ गरेर छाडेकोसमेत जनाएको छ ।
दुई संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट आज कञ्चनपुरको भीमदत्त नगरपालिकाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–४ का ६० वर्षीय पुरुष र सोही नगरपालिका–१५ का ७० वर्षीय पुरुष रहेको छ । उपचारका क्रममा आज दुबै जनाको महाकाली अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि दुबै जनालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो । बितेको तीन दिनमा अस्पतालमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भइसकेको महाकाली अस्पताल कोभिड–१९ सम्पर्क व्यक्ति डा. गोविन्द रोकायाले जानकारी दिए । उनले हाल अस्पतालमा ६० जना संक्रमितको उपचार भइरहेको जानकारी दिए ।
त्यसैगरी, यहाँको गड्डाचौकी नाकाबाट भारत जान आज बिहानदेखि रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएका बेला यहाँको स्थानीय प्रशासनले नेपाली नागरिकलाई भारत जान रोक लगाएको हो । इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले आइतबार बेलुकीदेखि नै भारत जाने क्रम न्यून रहेको बताए । उनले भारतबाट भने नेपालीहरुलाई गड्डाचौकी नाकाबाट स्वदेश फिर्ता हुन दिइएको बताए । 'अहिले यो नाकाबाट दैनिक पाँचदेखि सात सयजना स्वदेश फर्किरहेका छन्,' प्रहरी नायब उपरीक्षक गुरुङले भने, 'आउनेहरुको नाकामा स्वास्थ्य परीक्षण पनि भइरहेको छ ।'
स्थानीय प्रशासनले आंशिक बन्दाबन्दी (लकडाउन) गर्ने विषयमा गृहकार्य गरिरहेको छ । यस्तै, यहाँका स्थानीय तहहरुले पनि कोरोना सङ्क्रमण बढ्न थालेपछि कार्यपालिकाको कामकाज बन्द गरिरहेका छन् । (रासस)

























