काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पानी दिवसमा भूमिगत पानीको चिन्ता

17.56K
shares

आज विश्वभर पानी दिवस मनाइँदै छ । विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रहरुलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट संघले सन १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसको रुपमा मनाउन थालेको हो । यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान पानी’ रहेको छ । स्वच्छ खानेपानीको महत्व ‘हामीले यसका लागि जति मूल्य तिर्छौ, त्योभन्दा बढी छ’ भन्ने तथ्य आम नागरिकलाई बुझाउनु पर्ने यथार्थलाई आत्मसात गर्दै संयुक्त राष्ट्र संघले यो नारा तय गरेको हो ।

पानी पृथ्वीको सर्वश्रेष्ठ प्राणी मानिसको लागि मात्र हैन, सबै जीव र वनस्पतिहरुको जीवनको आधार हो । चेतनशील प्राणीका रुपमा मानवको जीवन मात्रै हैन, क्रियाकलापहरु पनि पानीमा निर्भर छन् । हाम्रा घरायसी क्रियाकलाप, खेतीपाती र पशुपालनजस्ता कृषि प्रणाली, स्वास्थ्य र आर्थिक क्रियाकलापदेखि हाम्रा धार्मिक एवं सांस्कृतिक संस्कारहरुमा गर्भावस्थादेखि मरणोपरान्तसम्म पानीको आवश्यकता पर्दछ । पृथ्वीको दुईतिहाई भूभाग पानीले ओगटेको भए पनि स्वच्छ पानीका स्रोतहरु कम छन् । असावधानीपूर्वक थालिएका विकास प्रयास र मानवीय हस्तक्षेपका कारणले भएका सीमित स्वच्छ पानीका स्रोतहरु समेत प्रदूषित भएका छन् । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०३० सम्म विश्वका सबै जनसंख्यालाई स्वच्छ खानेपानी र सरसफाईको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रम अन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतहरुको संरक्षण, सम्वर्द्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजनाहरु तय गरेको छ । यसअन्तर्गत सतहको पानी, आकाशे पानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।

भूमिगत पानीको चिन्ता

विश्व पानी दिवसको पूर्वसन्ध्यामा स्मार्ट वास सोलुसन्सले एक गोष्ठी आयोजना गरेको छ । ‘मूल्यवान पानीः भूमिगत पानीको महत्व’ विषयमा आयोजना गरिएको सो कार्यक्रममा नेपालमा खानेपानीको क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी, सामुदायिक र निजी संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।

वाटर एड नेपाल, एसएनभी नेपाल, इन्टरनेशनल वाटर म्यानेजमेण्ट इन्स्टिच्युट, स्मार्ट पानी र नेपाल नगरपालिका संघको सहयोगमा आयोजित सो कार्यक्रममा वाटर एड नेपालका कविरदास राजभण्डारीले भूमिगत जल पुनर्भरण आयोजनाहरुबाट सिकिएका पाठहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कुलेसा, पोखरी, इनार आदिका माध्यमबाट सरल प्रविधि, सामान्य जनशक्ति, सामुदायिक सहभागितामा पानीको पुनर्भरण गर्ने प्रयासका सकारात्क नतिजा आएको उल्लेख गरे । रानीबारी पुनर्भरण आयोजनाबाट त्यस वरपर भूमिगत पानीको सतह २ सेमी बढेको पाइएको बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका भूगर्भ शास्त्र विभागका सहप्राध्यापक डा. मोतिलाल रिजालले ‘भूमिगत पानी पुनर्भरण ः अहिले हामी कहाँ छौ ?’ भन्ने विषयमा अनुसन्धानमूलक कार्यपत्र पेश गर्दै भूगर्भमा रहेका माटो र चट्टानको प्रकृतिअनुसार जमीनको पानी सतहमुनि जाने बताए । उनले कही चट्टानको प्रकृतिअनुसार पानी माथिल्लो सहतमा फिजिएर बसेको छ भने स्यालो टयूबवेलबाट सहजै निकाल्न सकिने र चट्टान छेडेर भित्र पसेको छ भने डिप बोरिड गर्नुपर्ने बताए । उनले जहाँ-जसरी भूमिगत पानी बसेको छ, त्यसको पुनर्भरणको लागि पनि त्यस्तै प्रविधि अपनाउनु पर्ने बताए ।

कार्यक्रममा जलभूगर्भविद् सुरेशराज उप्रेतीले नेपालमा भूमिगत पानीको स्रोत उपयोगसम्बन्धी नीतिगत र संस्थागत व्यवस्था २०६८।६९ देखि नै सुरु भएको बताए । उनले भने, ‘नेपालमा नीति, ऐन, नियम, कार्यविधि र संरचना नभएका होइनन् तर आफ्नो सहुलियतअनुसार परिवर्तन गर्ने कार्य भएकाले तिनको काम प्रभावकारी देखिएन ।’ उनले नेपालको भूमिगत जलभण्डारको आँकलन गरेर त्यसको नक्सासमेत निस्किएको धेरै भए पनि त्यसलाई अद्यावधिक गर्ने कार्यमा विलम्ब भएको बताए । जलस्रोत नीतिले पानीका सवै पक्षलाई समेटेको हुनाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ छ । उनले पानीको तथ्यांकआधार सिर्जना गर्ने, यस क्षेत्रका विकास र अनुसन्धान गर्ने, नीति, नियम, कार्यविधिहरु तय गर्ने काम गर्न जल तथा ऊर्जा आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने आवश्यकता पनि औँल्याए । 

कार्यक्रममा एसएनभीका खानेपानीसम्बन्धी परियोजना प्रमुख रतन भण्डारीले दैलेख र सर्लाही जिल्लाका चार–चारवटा पालिकामा खानेपानीको परिमाण, गुणस्तर, पहुँच, प्राप्यता र भरपर्दो सेवा प्रदान गर्न गरिएका प्रयासहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा आकाशे पानीको व्यवस्थापन र भूमिगत पानी पुनर्भरणमा त्यसले पुर्याएको योगदानको बारेमा स्मार्ट पानीका प्रमुख सञ्चालन अधिकृत अनिशा कर्णले प्रस्तुति दिएकी थिइन् ।

स्थानीय तहबाटै धेरै गर्न सकिने

कार्यक्रमको सामूहिक छलफल सत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक अनिलभद्र खनालले नेपालमा खानेपानीको आपूर्तिका झण्डै आधा अंश भूमिगत पानीबाट आपूर्ति भएकाले यसको पुनर्भरणमा विशेष ध्यान दिन जरुरी भएको बताए । सामूहिक बहसका अर्का सहभागी धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले संविधानले खानेपानीको क्षेत्रमा काम गर्न स्थानीय तहलाई अधिकार दिएको उल्लेख गर्दै स्थानीय समस्या समाधानमा पालिकाहरुले जिम्मेवारीपूर्वक काम गरेको दाबी गरे ।

उनले पानी समृद्धि जागरुकता ल्याउन आवश्यक भएको बताउँदै नेपालको स्वच्छ पानी सिधै हिन्दमहासागर नपठाएर पानीको बहुउपयोग गर्न सुझाव दिए । उनले आफ्नो कार्यकालमा खानेपानी सम्मेलन आयोजना गर्ने, काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा भूमिगत पानीको अवस्थाको अध्ययन गर्ने, खानेपानीको वर्तमान अवस्था र चुनौतीबारे अध्ययन गर्ने, हरेक घरमा खानेपानीको धारा पुर्‍याउने, वर्षातको पानी संकलन गर्ने र ढल प्रशोधन गर्ने व्यक्ति वा संस्थालाई राजश्वमा छुट दिने, दुईवटा गाँउमा शुद्ध खानेपानी आपूर्तिको व्यवस्था, पानीको महत्वबारे जानकारी दिन पानी चौतारी कार्यक्रमको सुरुआतजस्ता कार्य भएको जानकारी दिए । उनले धुलिखेल नगरपालिकाले खानेपानीको क्षेत्रमा गरेका कार्यहरुबारे अष्ट्रेलियाको वेल्स र कर्णाटकमा पढाई सुरु भएको पनि बताए । स्थानीय नेतृत्वको अगाडि सरे धेरै काम गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा भूमिगत जलस्रोत विज्ञ प्रतापसिंह तातेडले भूमिगत पानीको संरक्षणको लागि सरकारले भूउपयोग नीतिको सही कार्यान्वयन गर्नुपर्ने बताउँदै अन्धाधुन्ध सहरीकरणलाई रोक्न पर्ने बताए । उनले भूमिगत पानी उपयोगको पनि नक्सांकन गर्नुपर्ने आवश्यकता औंल्याए ।