ढाका पुगिन् राष्ट्रपति, बंगलादेशी समकक्षीद्वारा स्वागत
वि.सं.२०७७ चैत ९ सोमवार १७:३९
shares
राष्ट्रपति विद्यादेवी भण्डारी २ दिनको राजकीय भ्रमणका लागि सोमबार बिहान बंगलादेश पुगेकी छन् । आज बिहान ५४ सदस्यीय टोली लिएर राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजमार्फत काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
उनलाई ढाकास्थित हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले स्वागत गरेका थिए। त्यसबखत राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशका सेनाले २१ तोपको सलामी दिएका थिए । त्यसबखत बंगलादेशका स्थल, जलतथा वायुसेनाका सैनिकहरु उपस्थित थिए । विमानस्थलमा नेपालतथा बंगलादेशका राष्ट्रिय धुन बजाईएको थियो ।
बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पुगेको तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यहाँ गएकी हुन् । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिनेछ । त्सपछि उनी त्यहाँको राष्ट्रिय सहिद स्मृति, सभारमा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्न सहभागी हुनेछिन् ।
परराष्ट्र मन्त्रालयका अनुसार आजै उनले समकक्षी हमिदसँग भेटवार्ता गर्नेछिन् । साथै प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट पनि आजै हुनेछ । राष्ट्रपति भण्डारी भ्रमण सम्पन्न गरी मंगलबार अपराह्न ४ः५५ बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

























