भागरथी हत्या प्रकरण : आरोपी दिनेश भट्टले ‘बयान’ फेरे
वि.सं.२०७७ चैत ९ सोमवार ००:५६
shares

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त दिनेश भट्टले बयान फेरेका छन् । जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधारगृहमा रहेका दिनेशले घटनामा आफ्नो संलग्नता नरहेको परिवारसँग बताएका छन् ।
सुधारगृहमा भेट्न गएका बुवा दीपकराज भट्टसँग दिनेश आफूले अपराध नगरेको बताएका हुन् । ‘यसअघि फोनमा पनि मैले अपराध गरेको होइन भनेको थियो । भेटमा पनि घटना भइरहेको आफूले देखेको र कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदने धम्की दिएपछि कसैलाई नभनेको सुनायो,’ दीपकराजले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा भने, ‘घटनामा संलग्न एक सोही गाउँपालिकामा कार्यरत कर्मचारी रहेको र अर्का एकजनालाई आफूले नचिनेको दिनेशले बतायो ।’
घटनापछि दीपकराज सपरिवार घर छोडेर महेन्द्रनगर सरेका छन् । बुवा र भाइलाई मार्ने धम्की दिएपछि डरले आफूले घटनाबारे कसैलाई नभनेको दिनेशले बताएका छन् । दिनेशलाई प्रहरीले फागुन ५ गते सार्वजनिक गरेको थियो ।
सार्वजनिक गरेपश्चात बुवा दिपकराज समेत राखेर सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले आफूले नै बलात्कार र हत्या गरेको स्वीकार गरेका थिए । यसका साथै दिनेशले भनेकै आधारमा भागरथीको घडी पनि प्रहरीले घटनास्थलबाटै बरामद गरेको थियो । गत माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफेर्केपछि माघ २२ गते साँझ स्थानीय लबलेक जंगलमा निर्वस्त्र र विभत्स अवस्थामा मृत फेला परेकी थिइन् ।

























