निर्माण कम्पनीको चरम लापरबाही : चौथो पटक म्याद थप्दा पनि बनेन पुल
वि.सं.२०७७ चैत ८ आइतवार १८:४०
shares

धनगढी उपमहानगरपालिका–३ चटकपुर र कञ्चनपुरको राजघाट हुँदै बग्छ मोहना नदी । नदीमाथि एउटा पक्की पुल निर्माणाधीन अवस्थामा छ । निर्माणाधीन त्यो पुल भने नौलो होइन । करिब ७ वर्षअघि निर्माण सुरु भएको पुलले पूर्णता पाउने मिति भने अझै तय गर्न सकेको छैन ।
निर्माणाधीन पुलको नजिकै नदीमाथि काठे पुल छ । त्यहाँको सामुदायिक वनले काठेपुलबाट नदी तरेबापत सर्वसाधारणबाट रकम लिन्छ । ओहोर–दोहोर गरेबापत प्रतिमोटरसाइकल २०, साइकल र प्रतिव्यक्ति १० तथा अटो रिक्साको ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । धनगढी उपमहानगरपालिका ३ चटकपुर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटका स्थानीय मोहना नदी वारपार गर्दा वर्षौंदेखि शुल्क तिर्दै आएका छन् । दुई जिल्लाको सीमा भएर बग्ने नदीमा बनाएको काठको अस्थायी पुल तर्न पैसा तिर्नुपर्ने कृष्णपुर नगरपालिका ७ रैकवार बिचुवाका घुम्मन चौधरीले बताए ।
कञ्चनपुरका स्थानीयलाई दूध, तरकारी बेच्न र उपभोग्य सामान किन्न, बैंकिङ कारोबार, रोजगारी तथा औषधि उपचारलगायत कामका लागि करिब तीन÷चार सय रुपैयाँ खर्च गरेर धनगढी बजार पुग्ने गरेका छन् । ‘यो नदी दिनमा चारपटक वारपार गर्नुपर्छ,’ धनगढीमा दूध बचेर घर फर्किंदै गरेकी पुनर्वासकी मीना महराले भनिन्, ‘बिहान र साँझ दुईपटक धनगढी दूध पु¥याउन जानुपर्छ, के गर्नु एकपटक नदी तरेको १० रुपैयाँका दरले दैनिक ४० रुपैयाँ तिर्नु परिरहेको छ ।’
मोहना नदीमा यसरी पुल तर्न थालेको २८ वर्ष भइसको छ । ‘धेरै समस्या भोग्यौं,’ उनले थपिन्, ‘कतिलाई बगायो नदीले, कतिले ज्यान गुमाए, कति अझै बेपत्ता छन् ।’ उनका अनुसार पछिल्लो समयमा त केही सहज भएको छ । काठे पुलबाट पैसा तिरेर भए पनि आवतजावत गर्न पाइन्छ । पहिले त कि डुंगा नभए नदीमा पौडी खेल्दै जानुपर्थ्यो ।’
लामो समय काठेपुलमै आवतजावत गरिरहेका स्थानीयलाई पछिल्लो समय भने पक्की पुल बन्छ भन्नेमा विश्वस्थ छैनन् । ‘पक्की पुल बन्ने भनेर निर्माण सुरु भएको ७ वर्ष बित्यो, अझै बन्न सकेको छैन ।’ उनले भनिन्, ‘अब त यो पुल बन्ला भन्ने आशा पनि छैन ।’
धनगढी बजारमा तरकारी बेचेर घर फर्किरहेकी शोभा रानाको पीडा पनि उस्तै छ । उनले पनि दैनिक ४० देखि ६० रुपैयाँ काठेपुल तरेबापत बुझाउनुपर्छ । ‘गुजारा चलाउन तरकारी बेच्नैपर्छ । वर्षाैं भयो यो नदी तर्न लागेको पुल अझै बनेको छैन ।’ तरकारी बेचेको रुपैयाँबाट दैनिक ४० देखि ६० रुपैयाँसम्म त काठेपुलमा तिर्नुपर्ने उनले बताइन् ।
निर्माणाधीन पुलनजिकै रहेको काठे पुलमा मानिस र मोटरसाइकल मात्र लैजान सकिन्छ । त्यो नजिकै करिब पाँच सय मिटर अर्को काठे पुल बनाइएको छ, जहाँ पुलमा ओहोरदोहोर गरेबापत प्रति मोटरसाइकल २०, साइकल १०, प्रतिव्यक्ति १० र अटो रिक्साको ५० रुपैयाँ शुल्क कायम गरिएको छ । ‘नदीमा पुल नभएको भए स्थानीयवासीलाई ओहोर–दोहोर गर्नै मुस्किल हुन्थ्यो,’ पुलका चौकीदार प्रदीप चौधरीले भने, ‘काठे पुलले सजिलो भएको छ ।’ ‘वर्षौंपिच्छे नयाँ अस्थायी पुल निर्माण गर्नुपर्छ,’ उनले थपे, ‘हरेक वर्ष नयाँ अस्थायी पुल बनाउँछौं र वर्षातमा फेरि नदीले बगाइरहन्छ ।’
७ वर्षसम्म अल्झियो पुल
तीन वर्षमा काम सक्ने गरी सडक डिभिजन कार्यालय कञ्चनपुरले एलाइड एड्भेञ्चर जेभीसँग २०७१ सालमा आठ करोड रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार तीन वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुल ठेकेदारको लापरवाहीका कारण अलपत्र परिरह्यो ।
सम्झौता अवधिमा पुलको पिलर निर्माणको काम मात्रै सकिएपछि सडक डिभिजन कार्यालयले निर्माण अवधि दुई वर्ष थपिदियो । दुईपटक गरी थपिएको २ वर्षको म्यादमा पुल निर्माण नभएपछि तेस्रो पटक पनि एक वर्षको म्याद थप भयो । उक्त म्याद यही पुस मसान्तमा सकियो तर, पुल निर्माण कार्य अझै सम्पन्न भएको छैन ।
निर्माण कम्पनीका सञ्चालक चन्द्रशेखर मल्ल भने पुल निर्माण अन्तिम चरणमा रहेको दाबी गर्छन् । ‘काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘यही आर्थिक वर्षभित्र काम सम्पन्न हुन्छ ।’ पुल निर्माणमा आफ्नो कारणले मात्र ढिलाइ नभएको उनको जिकिर छ । ‘पुल निर्माणमा ढिलाइ भएकै हो, म माफी माग्छु,’ उनले भने, ‘तर मेरो लापरबाही मात्र हैन । पहिलो दुई वर्ष ‘रिभ्यू डिजाइन’मै लाग्यो । थप एक वर्ष भारतले लगाएको नाकाबन्दीले असर पार्यो । अब यो आर्थिक वर्षसम्म पुल निर्माण सम्पन्न हुन्छ ।’
चौथो पटक म्याद थप्ने तयारी, ७० प्रतिशत भुक्तानी
पछिल्लो पटक थप गरिएको म्याद पुस मसान्तमा सकिएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । ‘ठेकेदारको लापरवाहीले तेस्रोपटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन सकेन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले भने, ‘कूल १२० मिटर लामो पुल निर्माण हुन लागेको हो । अब निर्माण अन्तिम चरणमा छ । फूटपाथको काम मात्रै बाँकी छ । एक महिनाभित्रै सम्पन्न हुन्छ ।’
‘कोरोनाका कारण काम प्रभावित भएको भन्दै निर्माण कम्पनीका सञ्चालकले फेरि म्याद थप्न निवेदन दिएका छन्,’ उनले भने, ‘६ महिनासम्म म्याद थप हुन सक्छ ।’ पटक–पटक गरी सञ्चालक मल्लले ७० प्रतिशतभन्दा बढी भुक्तानी लगिसकेको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । पुल नहुँदा नदी तर्नका लागि यात्रुले सास्ती खेप्दै आएका छन् । बर्खा याममा नदीमा डुँगा र हिउँदमा काठे पुलबाट स्थानीय बासिन्दाले नदी तर्नुपर्ने बाध्यता छ । दुई जिल्लाको सीमामा बग्ने मोहना नदीमाथि पुल नहुँदा त्यहाँका स्थानीयले सधैं सास्ती भोग्नु परिरहेको छ । अझ बर्खाको समयमा त काठेपुल पनि नहुँदा डुंगाबाट नदी तर्नुपर्ने बाध्यता छ ।


























