कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो, लक्ष्यबाट दायाँबायाँ गर्दैनौं : डा महत
वि.सं.२०७७ चैत २ सोमवार १८:०७
shares

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् । नेपाल प्रेस युनियनले सोमबार धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको उल्लेख गरे ।
उनले भने, 'त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।' उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अंकगणितले निर्धारण गर्ने बताए । 'त्यो अंकगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ,' डा. महतले भने । नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे ।

























