आज पनि सरकार र जसपाबीच वार्ता
वि.सं.२०७७ फागुन २८ शुक्रवार १५:१०
shares

सरकार र जनता समाजवादी पार्टी (जसपा)बीच सरकारमा जाने कि नजाने भन्ने विषयमा शुक्रबार पनि वार्ता हुने भएको छ । बालुवाटारमा शुक्रबार अपराह्न ४ बजे वार्ता हुने जसपाले जनाएको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने बताइएको छ ।
बिहीबारको वार्तामा प्रधानमन्त्री ओलीले जसपाले राखेका मागहरुमा सरकार सकारात्मक भएको बताएका थिए । सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको जसपाले जनाएको छ । जसपाले निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ ।
आफ्ना माग सम्बोधनका लागि जसपाले लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

























