घरेलु हिंसाप्रति मौनताको अन्त्यका लागि ‘अनम्युट’
वि.सं.२०७७ फागुन २७ बिहीवार १८:३२
shares

महिला सहभागिता तथा लैंगिक समानताप्रति प्रतिबद्ध युनिलिभर नेपाल लिमिटेडले १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनम्युट (#UNMUTE) अभियानअन्तर्गत भर्चुअल प्यानल छलफलको आयोजना गरेको थियो ।
छलफलमा बोल्दै युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलान मुखर्जीले नेपालभर घरेलु दुर्व्यवहारका घटनामा भएको उल्लेख्य वृद्धिलाई रोक्न सबैलाई अनम्यूट, अर्थात खुलेर आफ्ना अनुभव व्यक्त गर्न आवश्यक रहेको धारणा राखे । यो परिवर्तन हेर्न चाहने सबैले आ–आफ्ना ठाँउबाट स्वतःस्फूर्त रूपमा स्वयंमसेवकको भूमिका खेल्नुपर्नेसमेत उनले बताए । उनले सबैभन्दा पहिले हामी आफैँ, त्यसपछि हाम्रो परिवार हुँदै क्रमिक रूपमा समाजमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता औल्याए । यस अभियानमार्फत दुर्व्यवहार प्रभावित व्यक्ति तथा शुभचिन्तकहरूलाई दुर्व्यवहार, हिंसा तथा विभेदको यो चक्र तोड्न र बोल्न प्रोत्साहित गर्न सम्पूर्ण रूपमा सहयोग गर्ने अठोट गरे ।
चेलीबेटी बेचबिखन र महिला हिंसाविरुद्धको अभियानका मुख्य अभियन्ता तथा विशिष्ट समाजसेवी अनुराधा कोइरालाले आफूहरुले थाहै नपाई वरिपरि धेरै घरेलु हिंसा भइरहेको र घरेलु दुर्व्यवहारबाट गुज्रिरहेकाको समस्या पहिचान गर्न हाम्रो सामाजिक बनोटको कारणले निकै कठिन भएको बताइन् । उनले सबैका लागि सुरक्षित समुदाय बनाउन आवश्यक वातावरण बनाउने कार्र्य घरबाटै थालनी गर्नुपर्ने आवश्यकता औंल्याउँदै संवेदनशील मुद्दाहरूको बारेमा बालबालिकाहरूलाई सचेत गराउनुपर्नेमा जोड दिइन् । साथै घरेलु हिंसा महिलामा मात्र सीमित नभएको कारण लैंगिकताका विषयमा सबैलाई सम्मान गर्नुपर्ने आवश्यकतालाई प्रकाश पारिन् ।
अधिवक्ता मञ्जु ज्ञवालीले सबैले यस विषयमा आफ्नो मौनता तोड्न तथा सत्य स्थापना गर्न पर्याप्त परिस्थितिगत प्रमाणहरू सिर्जना गर्नुपर्ने आवश्यकता औल्याउँदै नेपालका कानुनमा घरेलु हिंसासम्बन्धि विभिन्न प्रावधानहरू रहेको र सबैको संयुक्त प्रयासमा निश्चय पनि न्यायको विजय हुने विश्वास व्यक्त गरे ।

























