सुदूरपश्चिम एमाले विवाद : नेमप्लेट र गुटका लागि ‘अराजनीतिक’ हर्कत
वि.सं.२०७७ फागुन २७ बिहीवार ००:५०
shares

सर्वोच्च अदालतले नेकपालाई पुरानै एमाले र माओवादी केन्द्रमा ब्यूँइताइ दिएपछि नेकपा एमालेले केन्द्रदेखि जिल्लासम्मै पार्टी कार्यालयमा बोर्ड राख्न अभियान नै सुरु गरेको छ । प्रचण्ड-नेपाल पक्षमा गएका नेताहरुले एमालेमै फर्किने उद्घोष गरिसके पनि सुदूरपश्चिम प्रदेशमा भने एमालेभित्रै विवाद झन् चर्किएको छ । भीम रावल गुट र कर्ण थापा गुटले फरक-फरक समयमा बोर्ड राखे भने ओली समूहले लेखराज भट्टलाई इन्चार्ज बनाइदिएपछि दुवै समूहबीच हात हालाहाल र नाराबाजीसमेत भयो ।
बुधबार बिहान साढे ११ बजे धनगढीको चटकपुरस्थित पार्टी कार्यालयमा पार्टी अध्यक्ष कर्ण थापाले एमालेको बोर्ड राख्ने कार्यक्रम राखेका थिए । तर त्योअगावै भीम रावलको निर्देशनमा उनको समूहले नेकपा एमालेको बोर्ड लगाइसकेका थिए । त्यो बोर्ड आधिकारिक नभएको भन्दै बोर्ड फालेर कर्ण थापा समूहले अर्को बोर्ड लगाए ।
यससँगै कर्ण थापा समूहले प्रचण्ड-नेपाल समूहले अध्यक्ष बनाएका लक्ष्मी जोशीको नेमप्लेट फालेर थापाको नेमप्लेट टाँसे । त्यसैगरी, प्रदेश इन्चार्ज भीम रावलको ठाउँमा लेखराज भट्टको नेमप्लेट राखिदिए । नेकपा एमाले सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टको बोर्ड टाँसेलगत्तै भीम रावलका कार्यकर्ताले त्यो बोर्ड फालिदिए । उनीहरुले ‘भीम रावल जिन्दावाद’ भन्दै नारासमेत लगाए । दुवै समूहबीच पार्टीको प्रदेश कार्यालयमै नाराबाजी र झडप भयो । तर बाक्लो संख्यामा खटिएका सुरक्षाकर्मीले ठूलो झडप हुनबाट बचाए ।
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष थापाले भने लेखराज भट्ट नै वैधानिक एमाले इन्चार्ज हुने दावी गरेका छन् । भीम रावलले अध्यक्षको अनुमतिबिना बैक खातामा रहेको ३० लाख रकम हिनामिना गरेको भन्दै उनलाई कारबाही गरिएको थापाको भनाइ छ । रावल कारबाहीमा परेसँगै भट्टलाई पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले इन्चार्ज तोकेको थापाले बताए । ‘पार्टी अध्यक्षले भीम रावललाई कारबाही गरेर इञ्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएको छ । अरु जिल्लामा परिवर्तन भएको नेतृत्व पनि अहिलेकै कायम हुन्छ,’ उनले भने ।
कर्ण थापा समूहले इन्चार्ज लेखराज भट्ट र अध्यक्ष कर्ण थापाको नेमप्लेट लगाउँदै पार्टी कार्यालयबाट फर्केपछि भीम रावल समूह पार्टीको प्रदेश कार्यालयमा पुगेको थियो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह, प्रदेशसभा सदस्य दीर्घ सोडारीसहित गएको टोलीले कर्ण थापासँगै लेखराज भट्टको नेमप्लेट पनि निकालेर तोडफोड गरेका हुन् । बुधबार दिनभर दुवै समूह एक अर्काबिच खनिए ।
दुवै पक्षले एक अर्कामाथि प्रतिशोध नसाँधी कार्यकर्ताहरु मिलेरै जानुपर्ने केही नेताहरुले बताएका छन् । तर ओली पक्षका कार्यकर्ताहरु भीम रावललाई र रावलका कार्यकर्ताहरु लेखराज भट्टलाई इन्चार्ज स्वीकार्न तयार छैनन् । रावल पक्षका युवा नेता दिपक सिहले आफूहरुको पार्टीको प्रदेश इञ्चार्ज भीम रावल भएको जिकर गरे । ‘साविकको एमाले हुँदा पनि भीम रावल इञ्चार्ज हुनुहुन्थ्यो, अदालतले पनि एमाले पुनर्स्थापना गरेपछि पार्टी इञ्चार्ज उहाँ नै हो,’ उनको तर्क छ ।

























