गृहपृष्ठ अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
अफगानिस्तानमा कारबाहीका क्रममा दश जना तालिबान मारिए
अफगानिस्तानको दक्षिणी हेल्मण्ड प्रान्तमा यहाँको राष्ट्रिय सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि १० जना तालिबान लडाकूको मृत्यु भएको जनाइएको छ । अफगानिस्तानमा विगत लामो समयदेखि हिंसा मच्चाइरहेका तालिबानहरुले सरकारी सम्पत्ति र सर्वसाधारणमाथि गर्ने गरेको आक्रमण जारी नै रहेको रहेको छ ।
सोमबार दिइएको जानकारीअनुसार यहाँको दक्षिणी हेल्मण्ड प्रान्तको नार ए सरओज जिल्लाका दुई स्थानमा सेनाले कारबाही गरेको थियो । त्यस कारबाहीका क्रममा परी ती व्यक्तिको निधन भएको बताइएको हो । अफगानिस्तानमा हिंसाको अनुगमन गरिरहेको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले सोमबार सो जानकारी दिएको छ । त्यसैगरी हेल्मण्ड प्रान्तको प्रान्तीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा पनि सो कुराको जानकारी गराइएको छ ।
त्यस जिल्लामा तालिबानको गढ रहेको मानिएको छ । त्यस क्षेत्रमा तालिबानहरु लुकेर बसेको सूचनाको आधारमा सरकारी सेनाले सो कारबाही गरेको बताइएको छ । उता अफगानिस्तानका विभिन्न प्रान्तका केही स्थानमा पनि हिंसात्मक आक्रमणहरु भएका बताइएको छ । सो हिंसामा भएको मानवीय हताहतको बारेमा भने कुनै जानकारी नगराइएको समाचारमा जनाइएको छ । (एजेन्सी)
प्रकाशित समय : १९:१९ बजे



















