जनकपुर । मधेश प्रदेशकी महिला सांसद ललिता दास तत्मा (विद्रोही)लाई कर्मयोगी बद्री पहाडी समाजसेवी पुरस्कार प्रदान गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णले सांसद विद्रोहीलाई प्रदान गरेका छन् ।
शनिबार जनकपुरधाममा आयोजित पुरस्कार अर्पण कार्यक्रममा सांसद विद्रोहीलाई नगद रु १ लाख १० हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । मधेशको दलित समुदायबाट सामाजिक न्यायको आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुका साथै दलित, महिला र सीमान्तकृत समुदायको अधिकारका लागि योगदान हेतु सांसद विद्रोहीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय २०८२ फागुन ३० गते सम्पन्न मानव अधिकार तथा शान्ति समाजको पुरस्कार छनौट समितिको बैठकले गरेको थियो । मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष सामाजिक न्यायका लागि महत्त्वपूर्ण योगदान गर्ने व्यक्तिलाई प्रदान गर्दै आएको छ ।
को हुन् ललिता दास तत्मा (विद्रोही) ?
२०४२ साउन १४ गते सिरहा जिल्लाको तत्कालीन सन्हैठा गाउँ पञ्चायत अन्तर्गत कृष्णपुर गाउँमा जन्मेकी हाल लहान निवासी ललिता दास मधेश प्रदेशको प्रदेश सभा सदस्य तथा प्रदेश सभामा महिला बालबालिका तथा सामाजिक न्याय समितिको सदस्य हुनुका साथै जनता समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य हुन् ।
जातीय तथा सामाजिक विभेद र उठीबासका घटना विरुद्ध सडक देखी सदनसम्म आवाज उठाउँदै विद्रोहीको पहिचान बनाएकी ललिता दास मधेशमा भएका विभिन्न आन्दोलनका क्रममा पटक पटक पक्राउ पर्नुका साथै सामाजिक आन्दोलनमा समेत सक्रिय छिन् ।
आमाको निधन हुँदा छोरीले शव बोक्न नहुने लगायतका मान्यता भत्काउँदै २०८० सालमा आफ्नो आमाको निधन हुँदा माइती गाउँबाट कमला नदीसम्म शव बोकेर जानुका साथै १३ दिनसम्म कपाल खौरिएर काज क्रियामा ललिता दास बसेकी थिइन । विगतमा रेडियो पत्रकारको रूपमा समेत क्रियाशील ललिता दासका दर्जनौँ लेख रचना प्रकाशित रहेको छ । उनी कुशल महिला सांसद रहेकी छन् । उनले पुरुष प्रधान समाजको अवधारणा बद्लिने उद्देश्यका साथ अगाडि बढ्दै गरेकी छन् ।



















