काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफू प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि काठमाडौं महानगरपालिका वडा नं. ८ प्रति आफ्नो विशेष जिम्मेवारी कायम रहेको बताएका छन्।

काठमाडौं महानगरपालिका वडा नं. ८ द्वारा आयोजित ‘गौरव सम्मान तथा अभिनन्दन’ कार्यक्रममा बोल्दै सभापति थापाले आफ्नो राजनीतिक यात्रामा वडा नं. ८ का मतदाता तथा स्थानीयवासीको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

उनले भने, ‘प्रत्येक पटक निर्वाचनको मैदानमा आउँदै गर्दा यो क्षेत्रले मलाई निर्वाचित पनि गरायो । निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं.८ को मलाई ठूलो साथ रह्यो । मैले अहिलेसम्म कहिले हारेको थिएन तर यो पटक हारियो । अहिले मैले पुरानो राजनीतिक दलको सभापतिको जिम्मेवारी लिएको छु । यो जिम्मेवारीमा पुग्ने कुरामा पनि तपाईंहरुको ठूलो योगदान छ ।’

उनले प्रत्येक निर्वाचनमा उक्त क्षेत्रले आफूलाई साथ दिँदै आएको उल्लेख गर्दै यसपटक भने निर्वाचनमा पराजित हुनुपरेको बताए । थापाले अहिले आफूले पुरानो राजनीतिक दल नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी सम्हालिरहेको र त्यसमा पनि स्थानीयवासीको ठूलो योगदान रहेको बताए ।

उनले सांसदका रूपमा निर्वाह गरेको भूमिकाले पार्टीभित्र नेतृत्वको जिम्मेवारी वहन गर्न योग्य बनाएको उल्लेख गरे । ‘२०७० सालको निर्वाचनपछि युवा उमेरमै संसद्मा बोल्ने अवसर पाएको थिएँ। त्यही अनुभवले आजको जिम्मेवारी सम्हाल्न सक्षम बनाएको हो,’ उनले भने ।

थापाले आफ्नो राजनीतिक तथा नेतृत्व यात्रामा वडा नं. ८ का नागरिकहरूको निरन्तर सहयोग रहेको भन्दै त्यसप्रति आभार व्यक्त गरे । उनले आफूलाई दिइएको विश्वासको सम्मान गर्दै इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता पनि जनाए ।

‘सबैको ठूलो योगदान रह्यो । इमानदारीतापूर्वक काम गर्नुपर्ने छ त्यो म गर्छु । म अहिले यो क्षेत्रको प्रत्यक्ष निर्वाचित प्रतिनिधि नरहे पनि यस ठाउँप्रतिको विशेष जिम्मेवारी बाँकी नै छ,’ उनले भने ।