सन् २०२० : पीडादायी वर्ष
वि.सं.२०७७ पुस १७ शुक्रवार १२:५८
shares

अंग्रेजी नयाँ वर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पीडादायी भएर बितेको छ । विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो वर्ष लामो इतिहासमै स्मरणीय वर्ष बन्ने भएको छ ।
सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोना महामारीले सबै क्षेत्रलाई प्रत्यक्ष मर्कामा पारेको छ भने वर्षभरि कोरोना नै केन्द्रविन्दुमा रह्यो । यो वर्षका केही मुख्य घटना यहाँ छोटकरीमा चर्चा गरिएको छ ।
कोरोना महामारी
यस वर्षको सबैभन्दा ठूलो घटना भनेकै कोरोना महामारी हो । यो वर्षको मात्रै नभई यो युगकै ठूलो घटनाको रूपमा रहनेछ । कोरोनाको सर्वव्यापी र सर्वपक्षीय क्षतिको कुनै हिसाबकिताब गरेर नै सम्भव छैन । मानवीय र आर्थिक क्षतिको मात्रै बढी चर्चा भएको छ । कोरोनाका कारण अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ भने ८३ करोड १३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । आर्थिक क्षतिको भरपर्दो विवरण अझै आएको छैन ।
महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ भने अन्य खोप पनि प्रयोग गर्न मिल्ने अन्तिम चरणमा रहेकाले महामारी न्यूनीकरण हुने अपेक्षा गर्दै सन् २०२० लाई बिदाइ गरिँदैछ ।
ईयूबाट बोलायतको बहिर्गमन
लामो विवाद र रस्साकस्सी हुँदै युरोपेली संघबाट बेलायत बाहिरिएको छ । जनवरी ३१ मा बेलायत युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको हो । पछिल्लो तीन वर्षदेखि युरोपेली संघबाट बाहिरिने प्रक्रिया अन्यौलमा परेको थियो । युरोपेली संघबाट बाहिरिएपछि अहिले व्यापार, सुरक्षा, यातायातलगायतका क्षेत्रमा बेलायतले नयाँ सम्बन्धका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको छ ।
ट्रम्पमय राजनीति
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको सुरुवातदेखि नै चर्चामा रहे पनि यो वर्ष कार्यकाल नवीकरण गर्ने वर्ष भएकाले पनि बढी चर्चा भयो । गत नोभेम्बर ३ मा भएको निर्वाचनबाट कार्यकाल लम्ब्याउन नसकेपनि उनले निर्वाचनको बेलाको आरोप‑प्रत्यारोप, मास्क बहिष्कार, कोरोनाप्रतिको उनको दृष्टिकोणलगायतका कारणले उनी चर्चाको केन्द्रमा नै रहे । दोस्रो कार्यकाल गर्न नपाउने दुर्लभ राष्ट्रपतिको रुपमा उनलाई यो वर्षले टुंगो लगायो । उनलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार जो बाइडेन निर्वाचित भए । निर्वाचनपछि पनि उनले नतिजा अस्वीकार गरेर थप चर्चा बटुले । वर्षको सुरुवातमा फेब्रुअरी ६ तारिखका दिन तल्लो सदनमा पारित ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव माथिल्लो सदन सिनेटले खारेज गरेको थियो ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
अमेरिकाले तालिवानसँग सम्झौता गर्दै अफगानिस्तानबाट सैनिक फिर्ता बोलायो । सन् २०१६ मा राष्ट्रपति निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरेका थिए । त्यो घोषणा उनको कार्यकालको अन्त्यतिर लागू भयो । तालिवान विद्रोही र अमेरिकाबीच अफगानिस्तानमा १८ वर्षभन्दा बढी समय युद्ध चलेकोमा अहिले कम भएको ठानिएको छ । तर, शान्ति प्रक्रिया भने अझै पनि तार्किक निष्कर्षमा पुगेको छैन ।
सलह आतंक
यो वर्षका विश्वव्यापी चर्चित घटनामध्ये सलह आतंक पनि एक हो । विषेश गरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो । कोरोनाको महामारी चलिरहेका बेला सलह पनि फैलिएको विषयले भोकमरी हुने र खाद्य संकट आउने सम्मको विश्लेषण गरिएको थियो । सन् २०१९ सुरुवाती महिनामा पहिलोपटक यमनमा देखिएको सलह नै एक वर्षपछि साउदी अरब, इरान हुँदै दक्षिण एसियाली राष्ट्र पाकिस्तान भित्रिएको थियो । त्यसपछि पाकिस्तानमा ठूलो क्षति पु‑याउँदै भारत हुँदै नेपाल छिरेको थियो । यसले यी देशहरुको कृषिमा ठूलो क्षति गरेको छ ।
ठूला दुःखद घटना
यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बग्दादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरि नै तरंग फैलायो । जनवरी ३ मा भएको यो घटनाको चर्चा सेलाउन नपाउँदै इरानको सेनाले युक्रेनी विमानलाई खसालिदियो । इरानको सेनाले पछि ‘मानवीय त्रुटिका कारण’ विमान खसालिएको स्वीकारोक्ति गरेको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको थियो । खासगरी इरान र युक्रेनसहित विभिन्न देशका गरी १७६ नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएका थिए ।
लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटनमा परी झन्डै ८० जनाको मृत्यु भयो । अस्ट्रेलियामा लागेको डढेलोले धेरै जीव जन्तुले ज्यान गुमाए । आगलागी नियन्त्रण गर्न हम्मे‑हम्मे प‑यो । आगलागीको असर अन्य देशहरुमा पनि प‑यो । विश्वचर्चित घटनामध्ये अमेरिकामा एक जना अफ्रिकी–अमेरिकीको प्रहरीले हत्या गरेपछि रंगभेद आन्दोलनले अमेरिका तरंगित भयो ।
किमको मृत्युको हल्ला
बेला‑बेलामा अमेरिकालाई चुनौती दिने र आणविक हतियार रहेको शक्तिशाली मुलुक मानिने उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको मृत्युको हल्लाले पनि यस वर्ष धेरैको ध्यान खिच्यो । दक्षिण कोरिया र केही पश्चिमा सञ्चारमाध्यमले किम २० दिनसम्म सम्पर्कविहीन हुँदा उनको मृत्यु नै भएको समाचार सम्प्रेषण गरेका थिए । उनको निधन भएको समाचारप्रति विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखले समेत चासो र चिन्ता व्यक्त गरेका थिए । सर्वत्र चासो र चिन्ता भइरहेकै बेला झन्डै २० दिनपछि उनी प्योङयाङनजिकै रहेको एउटा कृषि मल उद्योग निर्माण सम्पन्न भएको उपलक्ष्यमा आयोजित समारोहबाट सार्वजनिक भए । उनको मृत्युको चर्चा यसअघि पनि पटक‑पटक हुनेगरेकोमा यसपटक पनि झुटो सावित भएको छ ।
अल विदा म्यारोडोना
फुटबलका सर्वमान्य महान खेलाडी डिएगो म्यारोडोनालाई यसै वर्ष गुमाउनुपरेको छ । उनले सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाएका थिए । सन् २००० मा फिफाले मतदान गराउदा अर्जेन्टिनाका फुटबल हस्ती म्यारोडोना शताब्दीको सर्वोत्कृष्ट खेलाडीका रूपमा चयन भएका थिए । खेल जगतमा कतिपयले उनलाई भगवानसमेतको संज्ञा दिने गरेका छन् । म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भए । उनको निधनमा अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो ।
यीबाहेक पनि सन् २०२० ले विश्वमा अरु पनि धेरै प्रभाव छाडेको छ । अरु धेरै दीर्घकालीन महत्व राख्ने घटना भएका छन् । धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनीतिक समीकरण र सीमा विवादमा बेला‑बेलामा चर्चामा थिए । (जीवन भण्डारी/रासस)

























