global ime bank Long Banner Ad

गृहपृष्ठ ७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब, ८ प्रतिशत बढ्यो निर्यात

७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब, ८ प्रतिशत बढ्यो निर्यात

७ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३३ अर्ब, ८ प्रतिशत बढ्यो निर्यात

चालू आर्थिक वर्षको पहिलो ७ महिनामा व्यापार घाटा ७ खर्ब ३३ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ । भन्सार विभागका अनुसार चालू आव २०७७/७८को माघसम्म विदेशी वस्तुको आयातमा भने खासै कमी आएको छैन । गत आव २०७६/७७को पहिलो सात महिनाको भन्दा यो वर्ष ०.०१ प्रतिशत मात्रै आयातमा कमी आएको हो । निर्यातमा भने ७.६१ प्रतिशतले वृद्धि भएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार चालू आवको माघसम्म मात्रै ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रुपैयाँ नेपालको व्यापार घाटा रहेको छ । गत आवको सोही समयमा व्यापार घाटा ७ खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रूपैयाँ भएको थियो । गत वर्षको तुलनामा यस वर्ष भने ०.६६ प्रतिशत व्यापार घाटामा कमी आएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार यस आवको साउनदेखि माघसम्म ८ खर्ब ३ अर्ब ६४ करोड ३१ लाख ९१ हजार रूपैयाँको विदेशी वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा विदेशी वस्तु आयातका लागि ८ खर्ब ३ अर्ब ६० करोड २८ लाख १३ हजार रूपैयाँ नेपालबाट बाहिरिएको थियो । विदेशी वस्तु आयातका लागि नेपालले खर्चने रकममा यस वर्ष ४ करोड ३ लाख ७८ हजार घटेको भन्सार विभागले जनाएको छ । तथ्यांकअनुसार यस वर्षको सात महिनामा व्यापार घाटा ७.६१ प्रतिशतले सुधार भएको देखिन्छ । वैदेशिक व्यापारमा आयातको हिस्सा हेर्ने हो भने ९२ प्रतिशत आयात छ भने ८ प्रतिशत हिस्सा मात्र निर्यात भइरहेको छ । गत वर्ष आयातको हिस्सा ९२.५२ र निर्यातको हिस्सा ७.४८ प्रतिशत मात्र थियो । यो वर्ष भने गत वर्षभन्दा ०.५२ प्रतिशत निर्यात बढेको छ ।

भन्सार विभागका निर्देशक तथा प्रवक्ता शिशिर घिमिरेका अनुसार चालू आवको पहिलो सात महिनामा ६९ अर्ब ९१ करोड ७० लाख ८० हजार रूपैयाँको स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार रूपैयाँको स्वदेशी वस्तु निर्यात भएको थियो ।

सात महिनामा कुल ८ खर्ब ७३ अर्ब ५६ करोड २ लाख ७२ हजार रूपैयाँको वैदेशिक व्यापार हुँदा ७ खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख १२ हजार रूपैयाँ घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ । गत वर्ष पनि सोही अवधिमा ८ खर्ब ६८ अर्ब ५७ करोड ४० लाख ४० हजार रूपैयाँको वैदेशिक व्यापार भएको थियो भने ७ खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रूपैयाँको व्यापार घाटा भएको थियो ।

नेपालको वैदेशिक व्यापार सबैभन्दा बढी भारतसँग छ । करिब १४८ मुलुकसँग वैदेशिक व्यापार गरिरहेको नेपालले सबैभन्दा बढी खर्बौं रुपैयाँको हाराहारीमा भारतसँगै कारोबार गर्दछ । विभागका अनुसार सात महिनामा भारतबाट मात्रै ५ खर्ब ३१ अर्ब ९५ करोड २३ लाख तीन हजार रुपैयाँको आयात भएको छ भने ४९ अर्ब ९३ करोड ६५ लाख १६ हजार रुपैयाँ मूल्यको निर्यात भएको छ ।

भारतसँग नेपालको व्यापार तथ्यांक हेर्दा नेपाललाई ४ खर्ब ८२ अर्ब १ करोड ५७ लाख ८७ हजार रुपैयाँको व्यापार घाटा छ । त्यस्तै चीनसँग पनि खर्बभन्दा बढी व्यापार घाटा भएको देखिन्छ । चालू आवको सात महिनामा मात्रै चीनसँगको व्यापारमा एक खर्ब १५ अर्ब ५६ करोड ३८ लाख ८८ हजार रुपैयाँ घाटा देखिएको छ । यो वर्षको माघसम्म चीनबाट एक खर्ब १६ अर्ब १२ करोड १० लाख ६२ हजार रुपैयाँको आयात भएको छ । निर्यात भने ५५ करोड ७१ लाख ७४ हजार रुपैयाँको मात्रै छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा विदेशी मुलुकबाट ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब ४ करोड र असोज महिनामा १ खर्ब १३ अर्ब ४३ करोड बराबरको विदेशी वस्तुका आयात भएको थियो । त्यसैगरी, कार्तिकमा ४ खर्ब २ अर्ब ४९ करोड १ लाख ७८ हजार, मंसिरमा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाख ४२ हजार र पुसमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख ९४ हजार रूपैयाँको विभिन्न वस्तु मुलुकबाहिरबाट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित समय : २३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु