गृहपृष्ठ प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरे : मोहनविक्रम सिंह
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरे : मोहनविक्रम सिंह
नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताएका छन् । प्रगतिशील पत्रकार संघ बागलुङले सोमबार बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षाजस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने बताए ।
'यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन् । नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै संकटमा पर्यो,' उनले भने । धर्मनिरपेक्षता हटाउन र एमसीसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।
प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । 'छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्,' उनले भने । संघीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने संकेत उनले गरे । (रासस)
प्रकाशित समय : १९:५७ बजे



















