nmb bank

गृहपृष्ठ क्यान इन्फोटेकमा प्रविधिप्रेमीको घुईंचो

क्यान इन्फोटेकमा प्रविधिप्रेमीको घुईंचो

क्यान इन्फोटेकमा प्रविधिप्रेमीको घुईंचो

क्यान महासंघको आयोजनामा काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा सञ्चालन भइरहेको २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’मा अवलोकनकर्ताको घुईंचो लागेको छ । क्यान मेला ५ औं दिनसम्म करिब ३ लाखले अवलोकन गरेको आयोजकले जनाएको छ । मेला आज सकिदैछ ।

वर्षमा एक पटक सञ्चालन हुने प्रविधिको प्रदर्शनी क्यान इन्फोटेकमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता कायमै छ ।

यसपटक नयाँ प्रविधिहरुलाई प्रदर्शन गर्न हार्डवेयरका अतिरिक्त सञ्चार, सफ्टवेयर, आइटी स्टार्टअप र विश्वविद्यालय र कलेजका स्टलहरुलाई पनि समावेश गरिएको छ । नवीन प्रविधिहरुको प्रदर्शनी एकै थलोबाट भइरहेकोले अवलोकनकर्ताको संख्या बढेको आयोजकको दाबी छ ।

जारी इन्फोटेकमा सहभागी कम्पनी तथा डिष्ट्रिव्युसनहरुले ब्रान्डिङका साथै प्रडक्ट सेल्स र सर्भिसमा पनि प्रचारप्रसार गरिरहेका छन् । साथै उपहार तथा अफरहरु सार्वजनिक गर्ने क्रम आज पनि जारी रह्यो । कतिपय कम्पनीहरुले अघिल्लो दिनहरुका भन्दा भारी छुट तथा आकर्षक अफरहरु घोषणा गरेका छन् । सबैभन्दा बढी आकर्षण स्मार्टफोन कम्पनी, इन्टरनेट सेवाप्रदायक, नेटवर्किङ प्रडक्ट, कम्प्युटर एसेसोरिज, आइटी स्टार्टअपका स्टल देखिएको छ ।

डिजिकमले नेपाल भित्रिएको २०औं वर्ष पुगेको अवसरमा हरेक प्रडक्टमा २० प्रतिशत छुट प्रदान गरेको छ । आकर्षक सजावटसहित प्रचारप्रसार गरिरहेको डिजिकमले यसै इन्फोटेकको अवसर पारी नेपालमा गाडीमा प्रयोग हुने उच्चस्तरको सिसिटिभी क्यामेरा (ड्यास क्याम)सहित थप ३ प्रडक्टसमेत सार्वजनिक गरेको छ ।

शीर्ष प्रायोजक सुबिसु केबलनेटले दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ एमबिपीएस अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ । उसले पनि अवलोकनकर्तालाई लोभ्याएको छ ।

मोटोरोलाले आफ्नो मिड रेन्ज स्मार्टफोन ई ४ प्लसको विशेष प्रदर्शनी गरिरहेको छ । प्लाटिनम स्पोन्सर वल्र्डलिंकले ल्याएको नयाँ प्रविधि स्मार्टहबमा अवलोकनकर्ताको निकै आकर्षण रहेको पाइयो । कलाकार स्वप्न सुनिलको उपस्थिति रहेको वल्र्डलिंकको स्टल आज दिनभर अवलोकनकर्ताले घेरिएको थियो । नेपाल टेलिकमले रु. १ सय २५ मा वितरण गरेको फोरजी सिम लिने अवलोकनकर्ताहरुको संख्या झनै बढेको छ ।

टिपी लिंकले ल्याएको स्मार्ट होमबारे चासो लिनेहरुको संख्या पनि बढेको छ । यो स्मार्ट होमको प्रयोग गरी मोबाइल एपबाट घरको ढोका लक गर्न, लाइट बन्द गर्न, फ्रिज खोल्न बन्द गर्न सकिने बताइएको छ ।

मेलाकै अवसर पारी नेपालमा सार्वजनिक गरिएको नयाँ प्रविधिअन्तर्गत पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने जानकारी कम्पनीले दिएको छ ।

हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिएको छ । साथै हाइसेन्स र सोनीका फारेके स्मार्ट टिभीहरुका नेपाली उपभोक्ताको आकर्षण देखियो । हुवावेको नोभा २ मोडलको स्मार्टफोनले प्रयोगकर्ताको मन लोभ्याएको छ । साओमी नेपालले एमआई ब्रान्डका नयाँ स्मार्टफोनका अतिरिक्त इको प्रोडक्टहरुको बजार प्रवद्र्धन क्यान इन्फोटेकमार्फत् गरिरहेको छ ।

सर्वोच्च अदालतको मोबाइल एप मन पराउनेहरुको संख्या पनि बढेको देखियो । प्रदर्शनीमा आइटी तथा इन्जिनियरिङ विद्यार्थीहरुलाई लक्षित गरी स्टार्टअप र इन्नोभेसन कक्षसमेत बनाइएको छ । विभिन्न कलेजका रोबोटिक्स क्लबहरुले आफ्ना प्रोजेक्टहरुको विशेष प्रदर्शनी गरेका छन् । कारखाना नेपालले स्कुले बच्चाहरुका लागि केराबाट पियानो बजाउने लगायतका सिर्जनशील अध्यययन सामाग्री राखेको छ ।

मेलाकै अवसर पारी आइटी तालिम दिने संस्थाहरुले पनि भारी छुटसहित आफ्ना कोर्शहरु अफर गरेका छन् । मोबाइल वालेट खल्तीले क्यान इन्फोटेकको अवसरमा ल्याएको रिफर एन्ड अर्न सुविधा पनि निकै रुचाइएको छ । साथै युवा वैज्ञानिक राम–लक्ष्मणले तयार पारेको विद्युतीय भोटिङ मेशिनबाट अवलोकनकर्ताले इन्फोटेकबारे आफ्नो प्रतिक्रिया दिने व्यवस्था गरिएको छ ।

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स्लगायत गरी २२२ स्टल रहेका छन ।

प्रकाशित समय : १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु