nmb bank

गृहपृष्ठ मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त

मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त

मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपालमा रोचक भिडन्त

बुटवल । मुलुककै ठूलो बस व्यवसायी समिति पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षमा वर्तमान अध्यक्ष दधिराम खरेल र पूर्वअध्यक्ष दामोदर ज्ञवालीबीच प्रतिस्पर्धा हुने भएको छ । यही माघ २८ र २९ गते हुने संघको अधिवेसनको लागि खरेल र ज्ञवालीको उम्मेदवारी परेको हो ।
पश्चिम नेपाल बस व्यवसायी संघलाई यातायात व्यवसायीको सबैभन्दा ठूलो र सशक्त समिति मानिन्छ । संस्थाको करिब २६ करोडको बार्षिक बजेट रहेको छ । २ हजार ३ सय बस व्यवसायी यो संस्थासँग आबद्ध छन् । बुटवलमा बस समितिको चुनाबमा झण्डै दलका संसदीय चुनावको झल्को दिनेगरी प्रतिस्पर्धा हुने गरेको छ ।
माओवादी केन्द्र निकट दधिराम खरेल वाम गठबन्धनका आधिकारिक उम्मेदवार हुन् । अघिल्ला दुई कार्यकालमा उनी कांग्रेसको समर्थनमा अध्यक्ष बनेका थिए । त्यसबेला कांग्रेस र माओवादी एकातिर अनि एमाले समर्थित अर्कोतर्फ भएर चुनावमा सहभागी भएका थिए । गत निर्वाचनमा एमाले र माओवादीले वाम गठबन्धन बनाएपछि बस समितिको चुनावमा पनि त्यसको असर परेको छ ।
खरेल यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पनि भइसकेका छन् । त्यस्तै दामोदर ज्ञवाली पनि महासंघको वरिष्ठ उपाध्यक्ष हुन् । ९ वर्षसम्म पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्ष रहेका ज्ञवाली कांग्रेस निकट हुन् । अघिल्ला २ कार्यकाल माओवादी केन्द्रसँग सहकार्य गरेर चुनाबमा भिडेका कांग्रेस निकट व्यवसायीले अहिले वाम गठबन्धनको सामना गर्दैछन् ।
अध्यक्षका प्रत्यासी खरेलले बस व्यवसायमा मौलाउँदै गएको दलालीकरणलाई अन्त्य गर्न उम्मेदवारी दिएको बताएका छन् । ‘व्यवसायीभन्दा पनि संघमा व्यापारीहरुको संख्या बृद्धि भएको छ,’ उनले भने, ‘त्यसैले व्यवसायीको अनुरोधमा मैले उम्मेदवारी दिएको हुँ ।’ उता संघका पूर्व अध्यक्षसमेत भइसकेका ज्ञवालीले व्यवसाय बचाउनको लागि उम्मेदवारी दिएको बताए । ‘संघ अहिले सबैभन्दा बढी कमजोर अवस्थामा पुगेको छ,’ उनले भने, ‘ यसलाई धरासायी हुनबाट बचाउन उम्मेदवारी दिएको हुँ ।’
खरेल प्यानलबाट नारायण घिमिरेले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उनी यसअधि पनि सोही पदमा रहेका थिए । उनका प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका कृष्णप्रसाद बेलबासे हुन् । त्यसैगरी २ उपाध्यक्षको लागि उपेन्द्रमान श्रेष्ठ, एलजी शाह गुप्ता, जीवनकुमार बन्जाडे र गोपालप्रसाद पौडेलको उम्मेद्वारी परेको छ ।
महासचिवमा पदमराज गाहा र पोष्टराज गौतमले उम्मेदवारी दिएका छन् । सचिवमा कुश्माखर रेग्मी, सन्तोष पुन र रामचन्द्र भुसालले मनोनयन दर्ता गराएका छन् । दुई जना सहसचिवको लागि शोभाखर भण्डारी, सुरेन्द्र श्रेष्ठ, गोविन्द कँडेल, चेतनारायण बेलबासेको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा कृष्ण पाण्डे र मोहन पिएस भिड्दै छन् ।

प्रकाशित समय : १५:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु