गृहपृष्ठ प्रदेश नं ६ को नाम ‘कर्णाली’ नामाङ्कन गरियो
प्रदेश नं ६ को नाम ‘कर्णाली’ नामाङ्कन गरियो
सुर्खेत, १२ फागुन । प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा ९एमाले० संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताब नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गरेका थिए ।
चालीस प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गर्नु भएको थियो ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत
यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेकपा ९एमाले०का सांसद गुलाबजंग शाह र नेकपा ९माओवादी केन्द्र०का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाए । प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताए । काँग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताए ।
“प्रदेशको नाम र राजधानी सर्वसम्मत तोक्न सफल भएका छौँ र हामीलाई कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौँ”–उनले भने र “समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्ता पक्ष र प्रतिपक्षको महशुस हुनेछैन र प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौँ”– ।
छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताए । यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राखे ।
सांसद शाहीद्वारा नियमापत्ति नेपाली काँगेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गरे । प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ती जनाए । “समामुख महोदय प्रदेशको राजधानी तोक्ने विषयको प्रस्ताव तथा सरकारले प्रस्तुत गरेका प्रस्तावमा सरकारका मन्त्रीहरुले बोल्ने परम्परा छैन, यो प्रदेशमा नयाँ नियम भए संसद्लाई जानकारी होस्”–उनले भने ।
सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्परा विपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराए । सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बसेका थिए ।
रासस
प्रकाशित समय : १९:३२ बजे