गृहपृष्ठ उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कठोर नाकाबन्दी

उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कठोर नाकाबन्दी

उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै कठोर नाकाबन्दी

एजेन्सी, १३ फागुन ।  अमेरिकाले उत्तर कोरियामाथि हालसम्मकै सबैभन्दा कठोर नाकाबन्दीको घोषणा गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सो घोषणा गरेका हुन् । उत्तर कोरिया र दक्षिण कोरियाबीच सम्बन्ध सुधार भइरहेका बेला ट्रम्पको उक्त घोषणाको उत्तर कोरियाले विरोध गरेको छ ।

उत्तर कोरियाविरुद्ध अमेरिकाको अर्थ मन्त्रालय ट्रेजरी डिपार्टमेन्टले हालसम्मकै सबैभन्दा कठोर नाकाबन्दी घोषणा गर्दै उत्तर कोरियाका २८ मालवाहक पानीजहज, २७ कम्पनी तथा एक व्यक्तिलाई नाकाबन्दीको सूचीमा राखेको छ । नाकाबन्दीबाट उत्तर कोरियाले सामुद्रिक मार्गबाट गर्दै कोइला तथा पेट्रोलियम पदार्थको आयात निर्यातलाई रोक्ने अमेरिकी दाबी छ । कोरियाली प्रायद्विपको समस्या समाधान गर्न उत्तर र दक्षिण कोरिया सकारात्मक दिशामा अघि बढिरहेका बेला अमेरिकाले नाकाबन्दीको घोषणा गरेको हो । अमेरिकाको नाकाबन्दीबाट उत्तर कोरिया क्रुद्ध बन्ने निश्चित छ ।

यो नाकाबन्दीले यही वर्षको सुरुबाट सम्बन्ध सुधारको दिशामा अघि बढिरहेका दुई कोरियाको शान्ति वार्ता कतै भाँडिने त होइन भन्ने प्रश्न पनि उब्जिएको छ । अमेरिकाले उत्तर कोरियाविरुद्ध नाकाबन्दीको घोषणा गरेको यो पहिलो घटना पनि होइन । निकै लामो समयदेखि उत्तर कोरियामाथि नाकाबन्दी लगाउँदै आएको छ । तर, नाकाबन्दीका बावजुद उत्तर कोरियाले आणविक हतियार तथा क्षेप्यास्त्र परिक्षण गर्न छाडेको छैन । बरु अमेरिकाले जति कडा नाकाबन्दी लगायो, उत्तर कोरियाले झनै शक्तिशाली आणविक तथा क्षेप्यास्त्र परिक्षण गर्ने गरेको छ ।
यसबाट नाकाबन्दी लगाएरै उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गर्ने अमेरिकी नीति असफल मात्रै भएको छैन, बरु आणविक हतियार बनाउने दिशातर्फ उत्तर कोरिया अझ अग्रसर भएको देखिन्छ ।

अर्कोतर्फ भन्नलाई त अमेरिकाले बेलाबेला उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध अधिकतम दबाब र वार्तालाई एकैसाथ लैजाने भन्दै आएको छ । त्यस्तै, अमेरिकाले कुटनीतिक माध्यमबाट कोरियाली समस्याको समाधान खोज्ने र उस्तै परे सैनिक हस्तक्षेप नै गर्न पनि पछि नपर्ने जनाउँदै आएको छ । दक्षिण कोरियाली शहरमा भएको ओलम्पिकको उद्घाटन सत्रमा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाली प्रतिनिधिमण्डलसँग सामान्य हात समेत नमिलाएबाट अमेरिका कोरियाली समस्याको शान्तिपूर्ण हलका लागि कति सकारात्मक छ भन्ने प्रष्टै हुन्छ ।

न त कोरियाली संकट हल गर्नका लागि शान्तिपूर्ण माध्यमबाट उत्तर कोरियासँग कुटनीतिक वार्ता गर्न अमेरिका अघि सरेको छ न त त्यसका लागि अमेरिकाको तर्फबाट कुनै ठोस कदम चालिएको छ । यस विपरीत अमेरिकाले कोरियाली प्रायद्विपमा संयुक्त सैन्य अभ्यास गर्ने र उत्तर कोरियाविरुद्ध एकोहोरो नाकाबन्दी मात्रै लगाउँदै आएको छ । तर, यसपटक नाकाबन्दी घोषणा गरिएको समय भने निकै असान्दर्भिक छ ।

दक्षिण कोरियाको प्योङचाङ शहरमा जारी शीतकालीन ओलम्पिकको माध्यमबाट दुबै कोरिया एकै मञ्चमा आएको तथा दक्षिण कोरियाली राष्ट्रपति तथा उत्तर कोरियाली सर्वोच्च नेताबीच उच्चस्तरीय वार्ता हुन लागेका बेला अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाएको हो । पछिल्लो नाकाबन्दीले दुई कोरियाको शान्ति वार्तालाई कस्तो प्रभाव पार्छ, त्यो भने समयले बताउनेछ ।

प्रकाशित समय : ०८:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु